मुख्यमन्त्री र मन्त्रीबाटै सरकारको निर्देशनको अवज्ञा
- ईश्वरी प्रसाद देवकोटा
सुर्खेत। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न संघीय सरकारले जारी गरेका निर्देशन कर्णाली प्रदेश सरकारले अवज्ञा गरेको छ। संघीय सरकारले २५ जना भन्दा बढी मानिसलाई एकै ठाउँमा जम्मा हुन रोक लगाएको छ। तर मुख्यमन्त्री र मन्त्रीहरूबाट सरकारको उक्त निर्देशन उलंघन भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार अस्पताल घोषणा गरिएपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाही, सामाजिक विकास मन्त्री दल रावत हेलिकप्टरमार्फत अस्पतालको अनुगमन तथा स्वास्थ्यकर्मीको अवस्था बुझ्न जुम्लामा पुगेका थिए। त्यहाँ उनीहरू सहभागी कार्यक्रममा ठुलो सङ्ख्यामा मानिसहरूको उपस्थिति थियो।
सामाजिक दुरी कायम राख्ने कोरोना महामारीबाट जोगिने एक मात्र उपाय भएकोले देशभर लकडाउन गरी सामाजिक दुरी कायम गर्ने प्रयास भइरहेको छ। तर मुख्यमन्त्री र मन्त्री नै सहभागी उक्त कार्यक्रममा सामाजिक दुरी कायम गर्ने विषयमा ख्याल नगरी ठुलो सङ्ख्यामा मानिसहरू भेला भएका थिए।
कोरोनाको उच्च जोखिम रहेका बेला अस्पतालमा ठुलो सङ्ख्यामा मानिसहरूको उपस्थितिले सर्वसाधारणहरूमा सकारात्मक सन्देश नजाने स्थानीयको भनाई छ। ‘यसरी दर्जनौँलाई असुरक्षित रूपमा भेला गरेर प्रदेश सरकारले ठिक गरेन।’ स्थानीयहरू भन्छन्।
कोरोनाको जोखिमबारे वास्ता नगरी अस्पतालको सामान्य निरीक्षण गरेर मुख्यमन्त्री तथा मन्त्री फर्किएको प्रति पनि स्थानीयले आक्रोश व्यक्त गरेका छन्। उद्धार गरी गाउँ पठाएका मानिसहरू क्वारेन्टाइनमा नबसी जथाभाबी हिँडडुल गरिरहेको र क्वारेन्टाइनको राम्रो व्यवस्था नभएको जस्ता विषयहरुमा मुख्यमन्त्रीले चासो नदिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।