क्वारेन्टाइनमा जुम्ल्याहा शिशु जन्माएकी आमाको रिपोर्ट नेगेटिभ

दाङ । तुलसी बाल अस्पतालको आइसोलेसन वार्डमा रहेकी सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।

यादवको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

यादवको स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रयोगशालामा पठाइएकोमा आइतबार साँझ रिपोर्ट आएको हो । उनले शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कम तौल भएका जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन् ।

ती शिशुलाई नवजात अतिसघन कक्षमा राखेर उपचार गर्नुपर्ने भएपछि प्रादेशिक अस्पतालले तुलसी बाल अस्पतालमा सिफारिस गरेको थियो । अहिले जुम्ल्याहा दिदीबहिनीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

यादव तुलसीपुरको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । केही दिनअघि भारत, बलरामपुरस्थित आफ्नो माइतीघरबाट पैदल हिँडेर तुलसीपुर उपमहानगरपालिका–१३ मा रहेको घरमा उनी आएको थाहा पाएपछि स्थानीयवासीले उपमहानगरपालिकालाई खबर गरेका थिए ।

त्यसलगत्तै उनलाई तुलसीपुरको रक्षाचौर क्वारेन्टाइनमा लगिएको थियो । यादवको यसअघि गरिएको आरडीटीको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *