संसदमा गगन थापाले सुनाए प्रधानमन्त्रीलाई समर्पित बालकविता

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले संसदमा कविता वाचन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। सोमबारको संसद बैठकमा नेता थापाले प्रधानमन्त्रीको सुस्त कार्यशैलीप्रति कवितामार्फत व्यंग्य गरे।

भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा सरकारले नसुनेको विषयमा उनले ‘म त भाग्यमानी’ शीर्षकको बाल कविताबाटै प्रधानमन्त्रीको आलोचना गरे। उनले कवितामा पछिल्लो समय प्रधानमन्त्री ओली साहित्य सिर्जनामा लागेको र आँसुकवि भएको भन्दै व्यङ्ग्यसमेत गरे। नेता थापाले प्रधानमन्त्रीलाई समर्पित संसदमा सुनाएको बालकविता यस्तो छः

म त भाग्यमानी

छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको

यस्तो सबल सरकार छ सीमा कसले मिच्ने ?
कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्ने

सयौं कोश हिँड्दा पनि छैनन् श्रमिक आहत
गरिबलाई सम्मान छ सरकारबाट राहत

विदेशमा कोही पनि अलपत्र छैनन्
दु:ख पीडा सुनाउने ती नेपाली नै होइनन्

जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको साह्रै मर्म बुझ्ने

भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन् ओम्नी र यति

सबैतिर वाहवाह यस्तो विकास देख्दा
पत्रकार नि दंग छन् यी समाचार लेख्दा

कोमल हृदयका प्रधानमन्त्री, आँसुकवि हाम्रा
दिन नबिराई सिर्जना छ आहा कति राम्रा

राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत कविता भट्याउँदै कालापानी जाउँला

साह्रा नेपाल हाँसेको छ मेचीकाली गाउँछ
आँसु आए बरु त्यही गीतले आउँछ

यस्तो नायक गजबका ल्यायौं जानीजानी
अहो हामी नेपाली त साह्रै भाग्यमानी
अहो साह्रै भाग्यमानी
म त साह्रै भाग्यमानी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *