गरिमा धान पीडित राप्तीका किसानलाई न्युनतम राहत, अन्य पालिकामा आएन
- ध्रुवराज खनाल
चितवन । गत वर्षको सिजनमा गरिमा नामको हाईब्रिड धानको बीउ रोप्दा नोक्सानी व्यहोरेका चितवन राप्तीका किसानका लागि राहत रकम आएको छ । तर जिल्लाको अन्य पालिकाहरुमा पनि गरिमा धान लगाईएको भएपनि राहत रकम आएको छैन ।
आएको राहत रकम पनि ज्यादै न्युन मात्रामा छ । जिल्लाको अन्य पालिकाको तुलनामा राप्तीमा गरिमा धानको बीउ बढी लगाइएको थियो । राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार नगरभित्र ६ हजार ४० कठ्ठामा सो धानको बीउ लगाइएको थियो । सो क्षेत्रफलमा ७ सय ९२ किसानले खेती गरेका थिए । राप्ती नगरपालिकाले सुचना जारी गरेर सम्बन्धित वडा कार्यालय मार्फत् विवरण टिपाएकाहरुलाई राहत रकम लिन अनुरोध गरेको छ ।
राप्तीमा संघीय सरकारले क्षतीपूर्ती स्वरुप राहत प्रदान गर्नका लागि ३७ लाख ४२ हजार रुपैयाँ पठाएको नगर प्रमुख बरालले जानकारी दिइन् । क्षति रकम भने किसानहरुले दामासाही रुपमा प्राप्त गर्ने उनकाे भनाइ छ । जस अनुसार प्रति कठ्ठा ६ सय १९ रुपैयाँ किसानले प्राप्त गर्ने छन् ।
कृषि ज्ञान केन्द्रले राप्ती नगरपालिकामा उत्पादन लागत ३ हजार ६ सय ३५ रुपैयाँ कायम गरेको छ । तर किसानले राहत पाउँदा उत्पादन लागत भन्दा ज्यादै कम रकम पाउनेछन् । राप्ती नगरपालिकामा सबैभन्दा बढी वडा नम्बर ८ मा नोक्सानी भएको थियो । सो वडामा १ हजार ७ सय ७१ कठ्ठामा २ सय २४ जना किसानले गरिमा धान लगाएका थिए ।
सबैभन्दा कम वडा नम्बर ११ मा ३ जना किसानले १९ कठ्ठामा साे धान लगाएका थिए । ढिलै भएपनि क्षतीपूर्ती रकम आउनु सकारात्मक रहेको भन्दै राप्ती नगरपालिका प्रमुख बरालले थोरै राहत आयो भनेर चित्त नदुखाउन आग्रह गरेकी छिन् ।
नोक्सानी वापतको क्षतीपूर्ती स्वरुपको राहत रकम सोमबारदेखि सम्बन्धित वडा कार्यालयहरुले वितरण गर्न सुरु गरेका छन् ।
राप्ती नगरपालिकाले वडागत रुपमा संकलन गरेको क्षतीको विवरणः
वडा किसान संख्या कठ्ठा
- राप्ती वडा नं १ १८७ ११७७.५
- राप्ती वडा नं २ १७ ८९
- राप्ती वडा नं ३ २१ १४१.४
- राप्ती वडा नं ४ २० २५४
- राप्ती वडा नं ५ ५ ९४.५
- राप्ती वडा नं ६ ५३ ४६४.७
- राप्ती वडा नं ७ ११९ ८४०
- राप्ती वडा नं ८ २२४ १७७१.१०
- राप्ती वडा नं ९ १०८ ८२८.३
- राप्ती वडा नं १० ३५ ३६०
- राप्ती वडा नं ११ ३ १९