सीमा अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालत जानुपर्छः देव गुरुङ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद देव गुरुङले नेपाल–भारत सिमा विवादको विषय अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गुरुङले नेपालको भूमि अतिक्रमणको विषयमा अन्तर्राष्ट्रिय अदालत जान सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल सरकारले सो जमिन फिर्ताका लागि अविलम्ब कूटनीतिक पहल गर्न आग्रह गर्दै उनले भने, ‘यो मुद्दालाई लिएर अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने हो कि भन्ने कुरा म नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

भारतले नेपालको भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको घोषणा गरेको र केही समयअघि ३७२ वर्ग किलोमिटर भूमि अतिक्रमण गरेर नक्सा प्रकाशित गरेको उनको भनाइ छ ।

प्रतिनिधिसभा बैठकमा अन्य सांसदहरुले पनि भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै भारतसँगको सीमा समस्याको दीर्घकालीन समाधानका लागि उच्चस्तरमा कूटनीतिक पहल गर्न माग गरेका छन् ।

बैठकमा सांसद देव गुरुङसहित बालकृष्ण खाँण, दिव्यमणि राजभण्डारी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, धर्मशिला चापागाईं, थममाया थापा लगायतले भारतले नेपालको सिमाना मिचेर सडक निर्माण गरेको सम्बन्धमा भत्र्सना गर्दै फिर्ताका लागि पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा सांसदहरुले बहुआयामिक विषय उठाएको उल्लेख गर्दै सांसदका प्रश्नमा सरकारको विशेष ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *