बजेटको प्राथमिकता कृषि र राष्ट्रिय सुरक्षा हुनुपर्छः भीम रावल

काठमाडौं। नेकपाका नेता तथा सांसद भीम रावलले आगामी वर्षको बजेट कृषि र राष्ट्रिय सुरक्षामा केन्द्रित हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा प्रि-बजेटमाथिको छलफलमा भाग लिँदै नेता रावलले राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित गरी बजेट ल्याउन सरकारलाई सुझाव दिए।

कालापानी र लिपुलेकसहित अन्य सीमामा बस्ने सुरक्षाकर्मी र त्यहाँको पूर्वाधार विकासमा जोड दिन आग्रह गरे। उनले कालापानी क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउने उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए। त्यहाँ सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिनुपर्ने भए पनि अहिलेसम्म काम सुरु नभएको उनले बताए।

नेता रावलले भने, ‘कालापानी क्षेत्रमा नेपाली सेनालाई सडक निर्माण गर्ने जिम्मेवारी दिनुपर्ने थियो भन्ने कुरा बुझेका हौँ। तर अहिलेसम्म काम सुरु भएको छैन। सीतापुलमा भारत र तिंकरमा चीनसँगको भन्सार पञ्चायतकालमा समेत सञ्चालनमा थियो। नीति र सिद्धान्त राष्ट्रिय सुरक्षामा केन्द्रित हुन्छ भने यी कुराहरूलाई केले रोकेको छ ?’

ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारी सडेर जाने अवस्था आएको तर भारतबाट ट्रकका ट्रक तरकारी नेपाल भित्रिरहेको उल्लेख गर्दै उनले बजेटमा यस्ता विषयमा ध्यान दिन आग्रह गरे। सरकारले समाजवाद उन्मुख अर्थतन्त्र र कल्याणकारी राज्यको सिद्धान्तको अवधारणा अघि सारे पनि व्यवहारमा दलाल, नोकरशाही र पूँजीपतिहरुलाई प्रश्रय दिइएको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *