सीमाबारे जथाभाबी नबोल्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबारे आफूखुसी जथाभाबी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सीमा जस्तो संवेदनशील विषयमा बोल्दा तथ्य, तथ्यांक र प्रमाण भएका कुरा मात्र बोल्न भनेको एक मन्त्रीले बताए।

पछिल्लो समय भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जोड्ने सडकको उद्घाटन गरेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ। हालै एक सञ्चारमाध्यमा भूमिसुधार मन्त्री पद्मा अर्यालले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा कहिल्यै नभएको भनेकी थिइन्।

उक्त विषयमा विवाद उत्पन्न भएको थियो। मन्त्री अर्यालको अभिव्यक्तिमाथि सत्तारुढ दलका नेताहरुले नै प्रश्न उठाएका थिए। संसदका विभिन्न समितिहरूले यसबारेमा जवाफ दिन परराष्ट्र र भूमि सुधार मन्त्रीहरूलाई बोलाइरहेका छन्। मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सीमा समस्या कूटनीतिक तवरबाट नै हल गर्ने विषय भएको बताएका छन्।

सीमामा भारतले बलमिच्याइँ गरिरहेको भए पनि त्यसको समाधान सडकमा उफ्रेर नहुने उनले बताए। भूमि अतिक्रमण गरेको विरोधमा विभिन्न संगठनहरूले काठमाडौंलगायत ठाउँमा प्रदर्शन गरिरहेका छन्। यसबारे सरकारले भारतीय राजदुतलाई बोलाएर कुटनीतिक नोट हस्तान्तरण गरिसकेको छ।

बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन कडाइ गर्न निर्देशन पनि दिए। लकडाउन कडाइ नगरे कोरोना सङ्क्रमण भयावह हुने उनले बताएका छन्। मन्त्रिपरिषद् बैठक चलिरहँदा हालसम्मकै बढी ५७ जना सङ्क्रमित थपिएको सूचना पुगेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *