सही ढंगबाट बजेट नआए नेपाली जनताको जीवन कष्टकर हुन्छः ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं। नेपाली काँग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्व अर्थतन्त्रको असरलाई बेवास्ता गरी सरकारले पुरानै शैलीमा बजेट ल्याउने तयारी गरेको देखिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा उनले ‘जुरेलीको कथा झैं खुट्टा देख्दै चाल पाइयो’ भने झैं सरकारको नीति र सिद्धान्तले बजेट परम्परागत ढंगबाट आउन लागेको संकेत दिएको बताए।

‘अर्थमन्त्रीले संसदमा पेश गरेको सिद्धान्त र प्राथमिकता जुरेलीको कथा झैं छ, ’ कार्कीले भने। नेपालको अर्थतन्त्रमा कोरोना भाइरसको प्रभावलाई नजरअन्दाज गरिएको समेत उनको भनाइ छ। उनले मानव जीवनको रक्षा गर्दै बजेटका सिद्धान्त आउनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए। सरकारले सही ढंगबाट बजेट ल्याउन नसके मुलुकको अर्थतन्त्र धराशयी बन्ने र नेपाली जनताको जीवन कष्टकर हुने कार्कीको भनाइ छ।

‘सुखी नेपाली समृद्ध नेपाल’को नारा दिए सरकारको तेस्रो बजेट ल्याउने तयारी हुँदासमेत राष्ट्रिय गौरवका योजनाहरूको प्रगति शून्यप्रायः रहेको उनको भनाइ छ। कार्कीले भने, ‘माथिल्लो तामोकोसी २ वर्षअघि बन्नुपर्ने थियो। त्यसबाट हुने आम्दानी गुमाएका छौं। बुढीगण्डकी र सेतीबाट पनि हामीले गुमाएका छौं। मेलम्ची सपनामै सीमित छ। यो गतिले नेपाल कहिले विकास हुनसक्छ ?’

सरकारको खर्चमा सिथिलता, नीजि क्षेत्रप्रतिको अविश्वास र बढ्दो भ्रष्टाचारका कारण नेपाली अर्थतन्त्र सिथिल हुँदै गएको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *