न्युजिल्यान्डमा लगातार दोस्रो दिन कोरोना संक्रमित देखिएनन्, कतारमा २५ हजारमा संक्रमण
काठमाडौं । न्युजिल्यान्डमा बुधबार लगातार दुई दिनदेखि नयाँ कोरोना भाइरस संक्रमित व्यक्ति नभेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक आश्ले ब्लूमफिल्डले बुधबार मध्यरातदेखि लागू हुनेगरी लकडाउनलाई व्यापक रुपमा खुकुलो बनाउन पछिल्लो स्वास्थ्य विवरणले निकै हौसला दिएको बताए ।
न्यूजील्यान्डमा अधिकांश व्यवसाय, मलहरु, खुद्रा पसलहरु तथा रेस्टुराँहरु बुधबार मध्यरातदेखि खुला हुँदैछन् । तर सामाजिक दूरीका नियमहरु भने लागू हुनेछन् भने १० जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्धहरु लगाइनेछ ।
सरकारले बिहीबार वार्षिक बजेट पनि सार्वजनिक गर्दैछ । प्रधानमन्त्री जेसिन्डा आर्डनले कोरोना भाइरसका कारण मुलुकले सर्वाधिक ठूलो आर्थिक चुनौतीको सामना गर्नु परेको बताए ।
यसैबीच, दक्षिण कोरियाले कोरोना भाइरसबाट नयाँ संक्रमित भेटिएको जनाउँदै सामाजिक दूरी सम्बन्धी हालको व्यवस्थालाई तत्काल खुकुलो पार्ने कुनै योजना नरहेको जनाएको छ । उपस्वास्थ्य मन्त्री किम गाङ–लिपले सियोलमा पत्रकारहरुसँग कुरा गर्दै पछिल्लो पटक देखिएको कोरोना संक्रमणको विस्तृत अध्ययन गरेपछि मात्र उपयुक्त निर्णय लिइने स्पष्ट गरे ।
कोरियामा प्रतिदिन ३० जनामा कोरोना देखिए पनि पछिल्ला दिनहरुमा यो १० जनाभन्दा कममा आइपुगेको थियो । यहीकारण विद्यालयहरु पुनः खोल्न ढिलाई गरिएको छ भने राजधानी सियोल वरपरका रात्रि क्लबहरु अस्थायी रुपमा बन्द गरिएका छन् । कोरियाली संक्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बुधबार दक्षिण कोरियामा २६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरियामा कोरोनाभाइरसबाट संक्रमितको कूल संख्या १० हजार ९६२ पुगेको छ भने २५९ जनाको मृत्यु भएको छ ।
उता चीनमा बुधबार सात जनामा कोरोना संक्रमण देखिएको छ । यीमध्ये उत्तरपूर्वी जिलिन प्रान्तका छ जना रहेका छन् । नयाँ संक्रमित देखिएसँगै जिलिनका अधिकारीहरुले कोरोना देखिएको क्षेत्रसँग अरु भाग जोड्ने रेलसेवा बन्द गरिएको जनाएका छन् । चीनमा पछिल्लो विवरणसँगै कूल संक्रमितको संख्या ८२ हजार ९२६ पुगेको र ४ हजार ६३३ जनाको ज्यान गएको छ । तर अधिकांश संक्रमित व्यक्ति निको भएर घर फर्किसकेका छन् ।
मंगलबार चिनियाँ संचार माध्यमहरुले सर्वप्रथम कोरोनाभाइरस देखिएको उहानका सबै बासिन्दाको स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको बताएका छन् । मध्य चीनको औद्योगिक शहर उहानमा करिब १ करोड १० लाख मानिसको बसोबास छ ।
त्यस्तै नेपाली र भारतीय कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार मात्र एक हजार ५२६ जना नयाँ संक्रमित भेटिएको बताएको छ । कूल संक्रमितमध्ये हाल २२ हजार ११६ जना उपचारका क्रममा रहेका छन् ।
कतार समाचार एजेन्सीका अनुसार कतारमा तीन हजार १९ जना निको भएर डिस्चार्ज भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
नयाँ संक्रमित व्यक्तिमध्ये अधिकांश विदेशी कामदार रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि भएकाहरु सबैलाई क्वारेन्टिनमा राखिएको छ । कतारमा एक लाख ३४ हजार २९४ जनाको परीक्षण गरिएको पनि मन्त्रालयले स्पष्ट गरेको छ । एजेन्सी