प्रसव वार्डमा हमला, आमा र बच्चासहित २४ जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलको एक प्रसव वार्डमा भएको चरमपन्थी हमलामा मृतकको संख्या बढेर २४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुत्केरी महिला बढी छन् । मृत्यु हुनेमा नवजात शिशुका साथै नर्स पनि समावेश छन् । उक्त हमलामा कम्तिमा १६ जना घाइते भएका छन् ।

मेडिसिन्स सान्स फ्रन्टियर्सलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले लेखेको छ, ‘जतिबेला हमला भइरहेको थियो एउटी आमाले बच्चालाई जन्म दिइरहेकी थिइन् ।’ समाचार एजेन्सी रोयटर्सका अनुसार अर्की एक महिला जैनबले हमला हुनु केही क्षण अघि मात्रै बच्चा जन्माएकी थिइन् । उनले आफ्नो बच्चाको नाम ‘ओमिद’ राखेकी थिइन् जसको अर्थ हो – आशा । उनी वर्षौंपछि आमा बनेकी थिइन् तसर्थ छोराको नाम ‘ओमिद’ राखेकी थिइन् ।

जतिबेला हमला भयो जैनब बाथरुम गएकी थिइन् । त्यति नै बेला चिच्याहट सुनिन थाल्यो । उनले चार घण्टा अघि मात्रै बच्चा जन्माएकी थिइन्, उसको सुरक्षाबारे चिन्तित हुँदै उनी दौडदै बेडतर्फ आइन् तर चार घण्टा अघि जन्मिएकी उनकी ‘आशा’को मृत्यु भइसकेको थियो ।

हमला मंगलबार भएको हो । तर हालसम्म कुनै पनि चरमपन्थी संगठनले यसको जिम्मेवारी लिएका छैनन् । अस्पतालमा हमलापछि १९ बच्चालाई शहरको अर्को अस्पताल पुर्याइएको छ तर धेरैजसो आमालाई आफ्नो बच्चाको मृत्यु भइसकेको हो कि भन्ने आशंका छ ।

मंगलबार अर्को एक हमला भएको थियो । देशको पूर्वी इलाका नङगरहारमा एक अन्तिम संस्कार समारोहका क्रममा एक आतंकारी समूहले विस्फोट गराएको थियो । घटनामा ३२ जनाकाे मृत्यु भएकाे थियाे । इस्लामिक चरमपन्थी संगठन (आइएस) ले नंगरहारमा भएको आत्मघाती हमलाको जिम्मेवारी लिएको छ ।

अफगानिस्तानमा मंगलबार भएको भिन्न–भिन्न हमलामा कम्तिमा सय जनाको मृत्यु भएको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *