कालिमाटी तरकारी बजारमा गरियो काेराेना परीक्षण
काठमाडौं । काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी बिक्री गर्ने, ढुवानीलगायतका काममा संलग्नको कोरोना परीक्षण गरिएको छ ।
आज (बिहीबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा कालिमाटी तरकारी बजारभित्रका मानिसहरुमा आरडीटी तथा पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको हो । बजार क्षेत्रभित्र प्रत्यक्ष रुपमा कृषि वस्तुको खरिद बिक्रीमा संलग्न हुने व्यवसायी, व्यवसायीका सहयोगी, ढुवानीमा संलग्न हुने चालक, सहचालक, भरिया, सरसफाइ मजदुर, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण गरिएको जानकारी दिइएको छ ।
नेपालमा हालसम्म २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । पछिल्लो समय स्वास्थ्य मन्त्रालयले परीक्षणकाे दायरा बढाएपनि नर्स, पत्रकार र सुरक्षाकर्मीमा समेत संक्रमण पुष्टि भएपछि नेपालमा कोरोनाको जोखिम बढेको छ ।