…र खुशी आफैंभित्र खोज्न सिकेँ

चैत्र ११ गते । सरकारले लकडाउन जारी गरेको पहिलो दिन । बिहानको ६ बजे । निन्द्राले भर्खरै छोड्दै थियो । सधैँ ८ बजेसम्म निन्द्रामा मस्त हुने म, त्यो दिन चाँडै निन्द्राले छोडेको थियो ।

एक्लै बस्न, रमाउन नसक्ने स्वभावकि मान्छे मलाई पहिलो दिन नै अपत्यारिलो तरिकाले प्रभाव पार्न थालिसकेको थियो लकडाउनले । नजिक घर हुनेहरु घर जाने भए, जो सधैँ उठ्बस् हुने, खाने, बस्ने हाँसी मजाक गर्ने साथीहरु थिए । उनीहरु घर जाने भएपछि खिन्नता बढ्यो । एक्लोपनको चिन्ता थपियो । तीनै कुराले मेरो मन, मष्तिष्क एकमनको भारी बोके झैँ भएको थियो ।

अब भोलिदेखि के गरौँ, कसरी एक्लै बसौं, रिपोर्टिङमा हाँस्दै रमाइलो गर्दै को सँग जाने ? यस्तै, त्यस्तै कुराहरुले मनमा निराशाकाे डेरा जम्याे । शान्ति थिएन पटक्कै । मनभित्रको आकाशमा यस्तै खालका प्रश्नहरु मडारिरहेका थिए ।

ओछ्यानमा नै घडीको काँटाले ७ बजाएछ, म एकतमासले सिलिङतिर आँखा डुलाउँदै परिवारको सम्झनामा डुब्न पुगेँ ।

…नयाँ वर्षकाे दिन । विराटनगरदेखि धरानसम्मका लागि बस चढेँ । त्यतिबेला विराटनगरले बिदा गरिरहेको जस्तो आभास भयो, महेन्द्र चौकले अब कहिले आउने ? भन्दै प्रश्न सोधिरहेको भान भयो ।

एउटा खुशी थियो, घर जान पाँउदैछु । मेरी भदैनीलाई भेट्न । खुशी, खुशीमै सिमित भएन, छिट्टै धरान पुगेछु । धरानको घण्टाघरले मेरै लागि घडीको आफ्नै रफ्तारमा कुदिरहेको काँटालाई एकैछिन रोकिदिए जस्तो महसुस गरेँ ।

हत्तपत्त दशैँमा झैँ सिट नपाइने डरले अतालिँदै खाँदबारी जाने गाडीमा चढेँ । कुन बेला घर पुग्छु भन्ने हतार छ मलाई । किनकी मेरी भदैनी मलाई पर्खिरहेकी थिइन् । बुहारीले कति बेला आइपुग्ने भन्दै फोन गरिरहेकी थिईन् । केहि समयमा गाडीको रफ्तार अगाडी बढ्यो । सबै देखिएका यात्रुहरु कोरोना छल्न आफ्नै गाँउ र्फिर्कए झैँ लागिरहेको थियो ।

०००

मोबाइलको रिङ बज्यो, म झस्किएँ । यता उता हेरेँ । न म बसमा थिएँ । न धरानको भानु चौक, न घण्टाघर । केबल मेरो रित्तो कोठा । मेरा छरपस्ट रहेका सामानहरु । अनि खाटमा पल्टिएकी म बाहेक सबै काल्पनिक कथा मात्र रहेछ !

सहकर्मी बहिनीको फोन आएको रहेछ, फोन उठाएँ,- ‘दिदि, म त घर जान लागेको है !’

न मैँले उनलाई हाँसेर जाउ भन्न सकेँ, न यतै बस भन्ने अवस्था थियो । मैले मन गह्रौँ पार्दै उम ल, मात्रै भनेँ । मलाई थाहा थियो, डेरा गरेर बस्ने विद्यार्थी कर्मचारीहरुका लागि अब लकडाउन पछिको अवस्था कति कष्टकर हुन्छ भन्ने । मैले सधैँ जबरजस्ती खाना खान बोलाए झैँ त्यो समय उनलाई जबरजस्ती रोक्ने अवस्था पनि थिएन । मनले नमान्दै फोनबाट नै बिदाईको हात हल्लाउनु बाहेक अरु विकल्प केहि थिएन ।

मलाई अबको यात्रा एक्लै तय गर्नु थियो । खान, बस्न, हिँड्न यावत् कुराहरु एक्लै ब्यहोर्नु थियो । दिनभरी त लकडाउन विशेष रिपोर्टिङमा व्यस्त भएँ, खासै एक्लोपनाको असर परेन जब साँझ पर्न थाल्यो, घर परिवार साथीहरुसँगको रमाइलो पल, हाँसी मजाकका यादले कयौं रात आँखा राम्रोसँग जाेडिएन ।

म यसरी नै निदाउन सकिन भने निकट दिनमा डिप्रेसनमा जाँदैछु भन्ने पनि निश्चित थियो । लकडाउनको १० औं दिन आइपुग्दा खुशी भुलिसकेकी थिएँ । मलाई साथी, परिवारको न्याश्रोपनाले दिनदिनै खाइरहेको थियो । बाहिर जति हाँसेपनि भित्रैबाट रमाउन सकिरहेकी थिइनँ । तर पेसाप्रतिको जिम्मेवारी भने निभाइरहेकी थिएँ ।

०००

लकडाउन अवधीभर कयौँ कथाका पात्र भेटेँ । दैनिक काम गरेर भोको पेट भर्नेको कथा भेटेँ । जसको घरमा साँझ बिहानको छाक टार्न, चामल थिएन । सरकारले ल्याएको राहत हप्ता दिनसम्म एक छाक खाएर टारेको ऋषिदेव समुदायको १८ घरको कथा प्रत्यक्ष देखेँ, सुनेँ । सधैँ ठेलामा पानी पुरी, चटपटे बेच्ने राजेश दाई लकडाउनको केहि दिनपछि पेशा परिवर्तन गरेर तरकारी व्यापारी बनेको पनि देखेँ ।

कोरोना भाइरसको बढ्दो त्रास । लकडाउन पछिको आम मानिसकाे भोगाई । ती सम्पुर्ण कथा र कथाका पात्रबाट म आफूलाई परिवर्तन गर्न उत्प्रेरित बनेँ ।

अन्तरमनमा छलाङ मारेर महशुस गरेँ- ‘दुखि हुनुको कारण त म आफैँ रहेछु !’

उनीहरुले भोगेका कयौं कष्टकर दिन र जीवनका अप्ठयारो मोडहरुलाई सहज बनाउँदै अभाव र पिडालाई अवसरको रुपमा लिई कति पनि हरेस नखाई अघि बढेका पात्रहरूकाे कथाले थप प्रेरणा मिल्यो । म एक्लै रामाउन सिकेँ, युट्युबमा आहुती, खगेन्द्र संग्रौलाका अन्तर्वार्ता सुन्दा आनन्द मिल्न थाल्यो ।

पुराना, पुराना नारायण गोपाल, तारा देव, जितेन राईका गीत सुन्दा खुशी मिल्न थाल्यो । एक्लै गीत बजाएर नाच्दै भिडियो बनाउँदा, सामाजिक सञ्जालमा लाइभ आएर उपेन्द्र सुब्बाको, कविता वाचन गर्दा झन् हौसला मिल्यो ।

कोरोना त्राससँगै स्थलगत रिपोर्टिङ गर्दा र मैले गरेको काममा सफलता मिल्दा झनै सन्तुष्टि मिल्यो ।

…र लकडाउनको ५२ औं दिनमा आइपुग्दा मैले खुशी आफैँ भित्र खोज्न सिकेँ ! एक्लै हाँस्न सिकेँ ।

मैले ‘मलाई’ कहिल्यै पनि समय दिन नसकेकि रहेछु । यो पनि बुझेँ लकडाउनमा  र  ‘मलाई’ समय दिएँ । अन्तरमनसँग गफ्फिन सिकेँ । र अहिले रमाउन थालेकी छु, एक्लाेपनसँग ! आफैँसँग !

सायद अब चुनाैतिका पहाडै खडा भएपनि म फाेर्न सक्छु सजिलै, परिश्रमले ! आत्मबलले !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *