भारतमा मजदुरहरू आक्रोशित, गरे ढुंगामुढा
नयाँ दिल्ली । महाराष्ट्रबाट मध्य प्रदेश आएका मजदुर शुक्रबार बिजासन घाटमा आक्रोशित भएका छन् । ती मजदुरले आफ्नो भोकमरीलाई लिएर ढुंगामुढा गरे । बिजासन घाट त्यो ठाउँ हो जुन मध्य प्रदेश र महाराष्ट्रको सीमामा पर्छ । यो ठाउँमा महाराष्ट्रबाट बसहरुले मजदुरलाई ल्याएर छोडिदिन्छन् ताकि अर्को यात्रा मध्य प्रदेश सरकारको सहयोगबाट तय गर्न सकिन्छ ।
तर पछिल्लो कयौँ दिनदेखि बिजासन घाटमा आएका मजदुरहरू चिन्तित छन् । त्यहाँ मजदुरका अनुसार मध्य प्रदेश पुग्न धेरै समस्याको सामना गर्नु परेको छ । जागृत आदिवासी दलित संगठनकी माधुरी बहनले भनिन्– ‘बिजासन घाटको स्थिति निकै खराब छ । हरेक पटक महाराष्ट्रबाट चार देखि पाँच हजार मजदुर आइरहेका छन् । तर मध्य प्रदेश सरकार उनीहरुलाई सही तरिकाले खाने र जाने व्यवस्था गर्न सकिरहेको छैन ।’
उनका अनुसार मजदुरहरुले महाराष्ट्र सरकार उनीहरुलाई व्यवस्थित तरिकाले ल्याएको तर मध्य प्रदेश सरकारको तर्फबाट कुनै किसिमको सहयोग नमिलेको बताएका छन् । स्थिति यस्तो छ कि चर्को घाममा ती मजदुरहरुले शितल समेत पाएका छैनन् । त्यस्तै पानीको नाममा ट्यांकर छ जसबाट आवश्यकता पुरा भइरहेको छैन ।
महाराष्ट्रको ठाणेबाट आएका एक मजदुरले भने, ‘हामी बिहानै पुगेका थियौँ तर रातिसम्म पनि यहाँबाट फर्कने कुनै व्यवस्था भएन । जति मजदुर आइरहेका छन्, उनीहरुलाई लैजानका लागि त्यति बस उपलब्ध छैन ।’
चिन्तित मजदुरहरुले तीन पटकसम्म सडक जाम गर्ने कोशिस गरे भने ढुंगामुढा पनि गरे । माधुरी बहनका अनुसार कमसेकम सरकारले यस ठाउँमा २ सय बसको व्यवस्था गर्नु आवश्यक छ तर मुश्किलले ७० बस मात्रै उपलब्ध छ ।