लकडाउनमा कडाइः चितवन प्रशासनले प्रदेश सांसदलाई समेत फर्कायो

चितवन । लकडाउन उल्लंघन गर्ने प्रदेश सांसदलाई प्रहरीले फर्काइदिएको छ । प्रदेश ५ का प्रदेशसभा सदस्य वीरेन्द्र कनौडियालाई प्रहरीले शुक्रबार बिहान फर्काइदिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले नारायणी पुलबाट कनौडियालाई फर्काइदिएको जानकारी दिए ।

प्रशासनका अनुसार, कनौडिया सवारी अनुमतिपत्र नलिई आएका थिए । उनलाई सम्झाएर पठाएको सिम्खडाले बताए ।

लकडाउनलाई कडाइका साथ लागू गरिएको चितवन प्रशासनले जनाएको छ । प्रशासनका अनुसार, दमकल, एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मी र पत्रकारका सवारी साधन चलेका छन् । त्यस्तै औषधि, दूूध, तरकारी र खाद्यान्न ढुवानीका सवारीसाधनलाई पनि सञ्चालन हुन दिइएको छ ।

यससँगै स्थानीय प्रशासनले अनुगमनमा तीव्रता दिएको छ । अटेर गर्नेलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका नायब प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार बिहीबारबिना अनुमति हिँडडुल गर्ने ३८ सवारी साधन र १५ जनालाई नियन्त्रणमा लिइएको थियो ।

व्यक्तिहरुलाई छाडिएको छ भने सवारी साधन प्रहरीले राखेको छ । लकडाउन शुरु भएयता जिल्लामा एक हजार १८८ सवारी साधन नियन्त्रणमा लिइ कारवाही गरिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *