सङ्घीय संसद्को संयुक्त बैठकः राष्ट्रपतिको सम्बोधन सुरु

काठमाडौं । संघीय संसदको संयुक्त बैठक सुरु भएको छ । आज (शुक्रबार) ४ बजेदेखि सुरु भएको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठकमा सम्बोधन गर्दै आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।

राष्ट्रपतिको स्वागतका लागि सचिवालयले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पानीको फोहरा, ध्वजापताका र राष्ट्रिय झण्डा फहराउनाका साथै सुरक्षा प्रबन्ध गरेको थियो ।

नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । यसअघि संसद्मा पूर्वबजेट छलफल भइसकेको छ ।

कोरोना भाइरसको जोखिमका कारण विगत वर्षको नीति, कार्यक्रम प्रस्तुत हुँदाका बखत जस्तो धेरै पाहुनालाई आमन्त्रण गरिएको छैन भने दर्शक र सञ्चारकर्मीको उपस्थिति पनि पातलो छ । बैठकका गतिविधिलाई विभिन्न राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

राष्ट्रपतिको सम्बोधन सकिएपछि साँझ ६ बजे दोस्रो बैठक बस्ने कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *