ओली-प्रचण्डले गरे मदन-आश्रितबारे सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरू मदन भण्डारी र जीवराज आश्रितबारे पार्टीले सत्य तथ्य बाहिर ल्याउन निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औँ स्मृति दिवसमा संयुक्त वक्तव्य जारी गरेर अध्यक्षद्वयले सो प्रतिबद्धता जनाएका हुन्। चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा मदन-आश्रितको निधन भएको थियो। उक्त घटना दुर्घटना हो कि हत्या भन्ने अहिलेसम्म खुलेको छैन। यही दिनको सन्दर्भ पारेर दुई वर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण घोषणा भएको थियो।

मदन-आश्रितको दुर्घटनामा मृत्यु भएको भन्ने मान्न जनता तयार नरहेको विज्ञप्ति उल्लेख छ। ‘उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन, आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन्। हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्य तथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ,’ ओली प्रचण्डले विज्ञप्तिमा भनेका छन्।

नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरूद्ध षड्यन्त्रपूर्ण हत्याका रूपमा जनताले लिने गरेको उनीहरूको भनाइ छ। मदन-आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गरिरहने दृढ संकल्पसमेत अध्यक्षद्वय ओली-प्रचण्डको छ। उनीहरूले जनादेश बमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ संकल्पित रहेको पनि उल्लेख गरेका छन्।

वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अथक प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ। ‘थुप्रै कठिनाइ र सीमाका बाबजुद यस क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन्। प्राप्त यस ऐतिहासिक एवं दुर्लभ अवसरलाई जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ संकल्पित रहेको छ,’ अध्यक्षद्वयले भनेका छन्।

उनीहरूले कोरोना सङ्क्रमणको महामारीविरुद्ध अग्रभागमा स्वयंसेवी बन्न पार्टीका नेता र कार्यकर्तालाई आह्वान गरे। ‘महामारी निकै हदसम्म नियन्त्रित अवस्थामै रहेको भए पनि खुला सिमाना, लकडाउनको पूर्ण परिपालनाको अभाव र हाम्रा कमजोर स्वास्थ्य पूर्वाधारका कारण हामी उच्च जोखिममै छौँ। तसर्थ हामी कोरोना महामारीविरुद्धको यस अभियानमा स्वयंसेवी भावनाका साथ अग्रभागमा उभिएर योगदान गर्न समस्त पार्टीपंक्तिलाई आह्वान गर्दछौँ,’ संयुक्त वक्तव्यमा भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *