लिपुलेक विवादबारे भारतीय सेनाका प्रमुखले दिएको अभिव्यक्ति आपत्तिजनकः प्रवक्ता श्रेष्ठ

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सेनाका प्रमुखले लिपुलेक विवादबारे दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन्। शनिवार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रवक्ता श्रेष्ठले लिपुलेक विवादबारे दिएको आपत्तिजनक अभिव्यक्ति तत्काल सच्याउन समेत माग गरे।

उनले ट्विटरमा लेखेका छन्, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नेपालको अडानप्रति भारतीय सेना प्रमुखको अभिव्यक्ति आपत्तिजनक छ। नेपाल सधैँ सार्वभौम र स्वतन्त्र देशको रूपमा रहेको छ। उनले आफ्नो भनाइ सच्याउनुपर्छ।’ नेपाली भूमि लिपुलेकमा भारतले बाटो खनेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो भएको दाबीसहित नेपालले भारतलाई कूटनीतिक नोट पठाएको थियो।

भारतीय सेनाका प्रमुख जनरल मनोज नरवणेले शुक्रवार लिपुलेक विवादमा नेपाललाई कसैले उचालिरहेको दाबी गरेका थिए। गत वर्षको कात्तिकमा भारतले ती नेपाली भूभागसमेत आफ्नो सीमाभित्र पारेर राजनीतिक नक्सा सार्वजनिक गरेको थियो। त्यसयता नेपालमा भारतको उक्त कदमको विरोध भइरहेको छ। आफैँले ‘विवादास्पद भूभाग’ भन्दै आएको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतले एकतर्फी गतिविधि जारी राखेको छ।

उक्त विवादको समाधानका लागि नेपालले भारतसँग छलफलका लागि प्रस्ताव गर्दै आएको छ। तर छलफलका लागि नेपालले गरेको प्रस्तावलाई भने उसले बेवास्ता गर्दै आएको छ। भारतीय सेनाका प्रमुखको अभिव्यक्तिप्रति आपत्ति जनाएका नेकपा प्रवक्ता श्रेष्ठले नेपाल आफ्नो भूमिमाथिको अतिक्रमण र आन्तरिक मामिलामा हस्तक्षेप गरेको नसहने बताए।

आफ्नो भूमिमाथि अडान राख्न कसैको इसारा नचाहिने समेत उनले उल्लेख गरेका छन्। प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘हाम्रो भूमिमा कसैको अतिक्रमण र आन्तरिक मामिलामा कसैको हस्तक्षेप सहन्नौं। हाम्रो मातृभूमिको रक्षा गर्ने हाम्रा पुर्खाप्रति हामी गौरवान्वित छौँ। उनीहरूप्रति बफादार रहँदै हामी हाम्रो भूमि रक्षा गर्न प्रतिबद्ध छौँ। आफ्नो अडान राख्नका लागि हामीलाई कसैको इसारा चाहिँदैन। हामी आग्रह गर्न (भारतलाई) चाहन्छौँ। (छलफलमा) बसौं र समाधान गरौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *