जनताको पीडा बुझ्‍ने हृदय सरकारसँग छैनः देउवा

काठमाडौं। प्रतिनिधिसभा प्रमुख प्रतिपक्षी दल नेता शेरबहादुर देउवाले सरकारसँग कोरोना भाइरसले पुर्‍याउने क्षतिबारे ज्ञान नभएको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै देउवाले जनताको पीडा बुझ्ने हृदय सरकारसँग नभएको बताए। उनले जनताको दुखप्रति सरकारसँग कुनै संवेदना नभएको आरोप लगाए।

उनले भनेका छन्, ‘पहिलो सन्देश यो सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षति बारे ज्ञान नै छैन। दोस्रो, सरकारलाई जनताको दुःख प्रति कुनै वेदना छैन र जनताको पिडा बुझ्न सक्ने हृदय छैन। तेस्रो, सरकारसँग यो अप्ठेरो बेला भविष्यका लागि जनता आश्वस्त हुने कुनै योजना छैन। एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुवर्षिय योजनाको कोरा कल्पना जस्तो देखिन्छ। यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णतः असफल भएको छ।’

नीति तथा कार्यक्रममा सरकारले आफ्नो प्रशंसा मात्र गरेको उनले बताए। विगत दुई वर्षमा निकै काम गरेको दावा सरकारले गरे पनि फेरि यसअघिका नीति तथा कार्यक्रम हेर्दा लज्जित हुनुपर्ने अवस्था गरेको उनको भनाइ छ। उनले भनेका छन्’सरकार दुई पहिलेको नीति कार्यक्रम हेरेर आफै लज्जित बन्नुपर्ने स्थिति छ। त्यो बेला एक वर्ष भित्र बनाउँछु भनेको गौतम बुद्ध एयरपोर्ट बनेको छैन। तीन वटा मुख्य राजमार्गको छेउमा बनाउँछु भनेको ७६५ केभी ट्रान्समिसन लाइन, निजगढ एयरपोर्ट निर्माण प्रतीक्षामा छन्। पहिलेका नीति कार्यक्रममा उल्लेख गरिएका सात वटै प्रदेशका प्रमुख सहरमा विद्युतीय बस सेवा सञ्चालनमा ल्याइने जस्ता केही सपना पुरा नभई बिना कुनै स्पष्टीकरण तुहिएका छन्। यी त केही उदाहरण मात्र हुन।’

उनले सुशासन र शान्ति सुरक्षामा पनि सरकार असफल भएको दाबी गरे। उनले भनेका छन्, ‘नीति तथा कार्यक्रममा सरकारले सुशासन, शान्ति सुरक्षा कायम गरेको, भ्रष्टाचार विरुद्ध कारबाहीलाई तीव्रता दिएको भनिएको छ। बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको दुई वर्ष पुग्दै छ यो आपराधिक घटनाका प्रति सरकारको उदासीनता र गैर जिम्मेवार व्यवहारले सुशासन, शान्ति सुरक्षाको विषयमा सरकारी दावालाई चुनौती दिएको छ। यो त एक प्रतिनिधि मूलक घटना मात्र हो, यस्ता अपराधका अनेक घटनालाई नियन्त्रण गर्न सरकार असफल भएको छ। भ्रष्टाचारका एक पछि अर्का काण्ड भएका छन्। पछिल्लो समयमा सार्वजनिक भएको यति काण्ड हुँदै सेक्युरिटी प्रेस खरिद सम्बन्धी काण्डमा मन्त्री नै भ्रष्टाचारमा संलग्न भएको घटनापछि सरकारले भ्रष्टाचार नियन्त्रणको कुरा गर्नु जग सहाउने विषय होइन र ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *