‘हामीले भूकम्पको सामना गरिरहेको बेला भारत र चीनले लिम्पियाधुरामा सम्झौता गरे’

काठमाडौं। नेकपाका नेता सुवासचन्द्र नेवाङले सरकारको नीति तथा कार्यक्रम कोरोना भाइरसमा केन्द्रित भएको बताएका छन्। आइतबार संसद्मा नीति तथा कार्यक्रममाथि बोल्दै उनले आगामी दिनमा कोरोना भाइरसले स्थिति थप जटिल हुनेतर्फ सरकार पूर्णतः सतर्क रहेको देखिएको बताए। सिङ्गो देशको माग र आवश्यकता अनुसार सरकारले अहिलेको नीति तथा कार्यक्रम बनाएको उनले बताए।

उनले भनेका छन्, ‘महामारी अनपेक्षित लम्बिन गएको अवस्थामा त्यसलाई रोक्न थप प्रभावकारी कदम चाल्ने, थप कार्यक्रमको आवश्यकता रहने नीति तथा कार्यक्रमले भनेको छ। महामारीका कारण रोजगारी गुमाएका गरिब तथा विपन्न परिवार लगायत मानिसको लागि विशेष कार्यक्रम सञ्चालन गरिने भनेको छ। त्यस कारण सरकारको नीति तथा कार्यक्रम कोरोना महामारीमा केन्द्रित छ भन्ने देखिन्छ।’

नेता नेवाङले विगतमा जति नाकाबन्दी भए पनि अब त्यस्तो मार नेपालले व्यहोर्नु नपर्ने बताए। उनले भने, ‘हामीले यो भूपरिवेष्टित यो देशलाई भू जडित बनायौँ। अरू धेरै चर्चा नगरौँ। चीनतर्फ पनि समुद्रसम्म पुग्ने नाका खोल्यौँ, सम्झौता गर्‍यौं। अब यहाँ नाकाबन्दी कहिले पनि हुनेछैन। यति कुरा हामीले जनताको समर्थनमा गरेका हौँ। यो नीति तथा कार्यक्रममा उल्लेख छ।’

०७२ सालमा भूकम्प आएको २०औँ दिनमा दुई छिमेकीले सम्झौता गरेर लिम्पियाधुरालाई व्यापारिक नाकाको रूपमा अगाडि बढाएकोमा पनि उनले असन्तुष्टि पोखे। आफूहरू यो सहमतिलाई नमान्ने र यसलाई अस्वीकृत गर्ने उनले बताए।

नेवाङले भने, ‘२० औँ दिनमा दुई छिमेकीले एउटा सम्झौता गरे, लिम्पियाधुराको त्रिदेशीय विन्दुलाई एउटा व्यापार नाकाको रूपमा अघि बढाउने निर्णय गर्दा हामीसँग सोधेनन्, हामीले भग्नावशेष सोहोर्दै गर्दा हाम्रा दुई छिमेकी मित्रहरूले त्यसमा सम्झौता गरे, हामी विनम्रतापूर्वक भन्न चाहन्छौँः त्यो सहमतिप्रति हाम्रो स्वीकार्यता छैन। हामी त्यसलाई अस्वीकृत गर्छौँ। त्यसका विरुद्धमा विनम्रतापूर्वक लड्छौं। सिङ्गो संसद् र देशलाई एकजुट बनाएर त्यसविरुद्ध अघि बढ्छौं।’

उनले अगाडि भने, ‘भूकम्पले क्षतविक्षत भएको बेलामा आफ्नै कोही मित्रले नाकाबन्दी लगाउनु विश्वास गर्न नसकिने विषय हो, कोही-कोही मित्रहरूले त नाकाबन्दीको नामै उच्चारण गर्न चाहनुभएन, हामीले त सिधै भन्यौं।’ उनले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा इतिहासमा पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमालाई प्रस्तुत गरिएको समेत बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *