लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषदमा लैजाने तयारी

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सासहितको प्रस्ताव मन्त्रिपरिषद बैठकमा लिने तयारी गरेको छ। आज साँझ ५ बजेका लागि मन्त्रीपरिषद्को बैठक बोलाइएको छ। उक्त बैठकमा भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा पेस गर्ने मन्त्रालयको तयारी छ।

गत कार्तिक भारतले जारी गरेको नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक गाभेपछि नेपाल सरकारलाई आफ्नो नक्सा सार्वजनिक गर्न दबाब बढेको थियो। भारतले लिपुलेकबाट सडक खन्न थालेपछि नक्सा जारी गर्न नेपाल सरकारलाई थप दबाब परेको हो। सोही सन्दर्भमा सरकारको नीति तथा कार्यक्रममा समेत नयाँ नक्सा सार्वजनिक गरिने प्रतिबद्धता उल्लेख गरिएको छ।

उक्त प्रतिबद्धता अनुसार मन्त्रालयले नक्सा बनाउन तयारी थालेको हो। भूमि व्यवस्था तथा सहकारी मन्त्रालय स्रोतका अनुसार नापी विभागले तयार पारेको नक्सा भूमि व्यवस्था मन्त्री पदमा अर्यालले मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी गरेकी हुन्। मन्त्रिपरिषद् बैठकमा छलफल गरेपछि मात्र त्यो पारित हुनेछ।

सरकारले लिम्पियाधुरा सहितको नक्सा जारी गरेर भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्ने तयारी गरेको बुझिएको छ। तर नक्सा सार्वजनिक गर्नुअघि सरकारले त्यसका प्राविधिक, कूटनीतिक लगायतका पक्षमा विचार गरेर परिपक्व निर्णय गर्नुपर्ने मन्त्रालयका एक उच्च अधिकारीको भनाइ छ।

नेपालको हाल प्रचलनमा रहेको नक्सा र नेपालको संविधानको अनुसूचीमा उल्लेखित राष्ट्रिय नक्सामा समेत लिम्पियाधुरा छैन। मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि नयाँ नक्सा सार्वजनिक गरिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *