प्रधानमन्त्री ज्यू, रोगले होइन, भोकले मर्ने अवस्था आउन लाग्योः प्रदीप गिरि

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रदीप गिरिले कोरोना भाइरस महामारीबारे सरकारको नीति तथा कार्यक्रममा ठोस चिन्तन नदेखिएको बताएका छन्। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आइतबार सांसद गिरिले कोरोनाले भोकमरी निम्त्याउने खतरा रहेको समेत बताए। उनले नेपालमा रोग भन्दा पनि भोकले मर्ने अवस्था आउन लागेको बताए।

उनले भनेका छन्, ‘सरकारको नीति तथा कार्यक्रममा मानव जातिमा आजअघि कहिल्यै नपरेको समस्याका बारेमा एउटै पनि चिन्तन छैन। सधैँ भन्दै आएको भ्रष्ट्राचार, सुशासन लागू गरिने अवश्य छ। थप कुरा कसैलाई भोकै रहन दिन्नौ, कसैलाई भोकले मर्न दिँदैनौ भन्ने छ। तर म चेतावनी दिन चाहन्छु, भोकले नै मर्ने अवस्था आउँदै छ।’

भ्रष्टाचार र कुशासनको वास्तविक चित्र कोरोनाले देखाइदिएको भन्दै नेता गिरिले सत्ता हस्तान्तरण भए पनि सत्ता रूपान्तरण हुन नसकेको आफूलाई अनुभूति भएको बताए। उनले राज्य र राज्य संयन्त्र अहिलेको महामारीप्रति पूर्ण रूपमा उदासीन रहेको समेत बताए। उनले भनेका छन्, ‘राज्य र राज्य संयन्त्र पूर्ण रूपमा उदासीन छ। किन ? भनिन्छ, रक्सीको नसा खाएपछि लाग्छ। पैसाको नसा पाएपछि लाग्छ। तर सत्ताको नसा गाएपछि लाग्ने रहेछ। अहो तपाइ कति ठूलो मान्छे।’

कोरोना भाइरसको महामारी द्वितीय महायुद्धको एटम बम भन्दा बढी खतरनाक रहेको उल्लेख गर्दै उनले सरकारको नीति तथा कार्यक्रममा जिम्मेवारीबाट पन्छिन सरकारले भ्रष्टाचार र सुशासनको नाम मात्र उल्लेख गरेको आरोप लगाए। प्रधानमन्त्रीले यति खतरनाक विषयमा यस्तै हो भनेर पन्छिन नपाउने उनको भनाइ छ। कोरोना महामारीको जोखिम कम गर्न आवश्यक स्वास्थ्य पूर्वाधारमा ध्यान दिन आग्रह गरे।

उनले सीमा र विदेशमा अलपत्र नेपाली नागरिकलाई ल्याउन आवश्यक पहल चाल्न समेत आग्रह गरे। उनले भने, ‘हामी जसका पैसाले बाचेका छौ। विदेशीयका दाजुभाइहरूलाई ल्याउने आँट देखाउनुहोस्। उनीहरू चाहेर त्यहाँ गएका होइनन्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *