एमसीसीका योजना नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित विपरीतः भीम रावल

काठमाडौं। नेकपाका नेता भीम रावलले सरकारले नीति तथा कार्यक्रममा मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई प्रवेश गराउन खोजेको बताएका छन्। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेता रावलले एससीसीबारे स्पष्ट नपारिए पनि पछाडिको ढोकाबाट ल्याउन खोजिएको अनुभूति भएको बताए।

उनले भने, ‘नीति तथा कार्यक्रममा एसीसीबारे स्पष्ट गरिएको छैन। तर पछाडिको ढोकाबाट एमसीसी आउन खोजेको अनुभूत भएको छ।’ विगतमा गरिएको महाकाली सन्धिबाट नेपालले धोका पाएको स्मरण गराउँदै उनले फेरि एमसीसीलाई प्रवेश गराएर स्वाधीन र स्वतन्त्र देशमाथि आँच पुर्‍याउने सम्झौता गर्न नहुनेतर्फ सचेत गराए। नेता रावलले देशको स्वाधीनता र स्वतन्त्रतामा आँच पुर्‍याउने सम्झौता पैसामा साट्न नसकिने पनि बताए।

‘हिजो एक काँग्रेस नेताले भन्नु भयो। एमसीसी छिटो पारित गर्नुपर्छ। उहाँले महाकाली सन्धिमा पनि त्यस्तै कुरा गर्नुभएको थियो। महाकाली सन्धिको १०/१० वर्षमा पुनरावलोकन हुनुपर्छ भन्ने थियो तर आज न त्यसको पुनरावलोकन भयो। न कार्यान्वयन भयो,’ उनले भने, ‘नीति तथा कार्यक्रममा एमसीसी सम्बन्धी जुन कुरा परेको छ। म आसा गर्छु यो, त्यो सम्झौता अन्तर्गतको अङ्ग हुने छैन। यदि त्यो भयो भने राष्ट्र हित विपरीत हुनेछ। नेपाली जनताको आवाजको विपरीत हुने छ। एउटा स्वाधीन स्वतन्त्र देशमा आँच पुर्‍याउनले सम्झौता पैसामा साट्न सकिँदैन।’

नीति तथा कार्यक्रममा परेको अन्तर्देशीय उद्योग धन्दा खोल्ने विषय पनि स्पष्ट नभएको उनले बताए। नेपालको कुन कानूनमा टेकेर यो विषयलाई उठाइएको हो त्यो प्रस्ट्याउन आग्रह गरे। उनले अहिले महामारीको चुनौतीका बेला अस्पष्ट कुराहरू राखे जनतामा भ्रम पैदा गर्ने विषयहरू उठाउन नहुने बताए।

‘अन्तर्देशीय उद्योग धन्दा खोल्ने पनि मैले त्यहाँ देखे। नेपालको कानून अध्ययन गर्दा कुन कानून अन्तर्गत कसरी दुई देश संलग्न भएर यहाँ उद्योग खोल्छौ भनेको हो ? त्यो कुरा मैले कहीँ पनि पाइन्। यस्तो चुनौतीको बेलामा यस्ता अस्पष्ट कुराहरू अगाडि सार्दा त्यसले जनतामा भ्रम सिर्जना गर्छ।’

उनले नीति तथा कार्यक्रममा अस्पष्ट कुराहरू बजेट प्रस्तुत हुँदा प्रस्ट भएर आउनेमा आफू आशावादी रहेको बताए। उनले नीति तथा कार्यक्रमले देशका पिछडिएका जनता र श्रमजीवी वर्गको लागि उपयुक्त ढङ्गबाट सम्बोधन गर्न नसकेको प्रस्ट्याए। उनले महामारी पछि रोजगारी सिर्जना गर्न ठूलो चुनौती हुने समेत बताए। कृषि क्षेत्रमा ल्याएका कार्यक्रमबारे उनले प्रशंसा गरे। मानिसको जीवन रक्षामा केन्द्रित गरेर बजेट आउनु पर्नेमा पनि जोड दिए।

उनले भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको नक्सा जारी गर्ने विषय स्वागत योग्य रहेको पनि बताए। उनले स्वाधीन र स्वतन्त्रतामाथि हस्तक्षेप हुने विषय समाप्त गरेर अघि बढ्नु पर्नेमा जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *