स्वास्थ्य, रक्षा र परराष्ट्रमन्त्री उपस्थित नभएको प्रति कांग्रेस सांसदको आक्रोश
काठमाडौं। कांग्रेस सांसद बहादुर सिं लामाले कोरोना भाइरसका विरुद्ध सिङ्गो मुलुक लडिरहेको अवस्थामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका विषयमा संसद्मा छलफल चलिरहँदा सरकारका सम्बन्धी मन्त्रीहरू अनुपस्थित रहनु भनेको सरकार जनताको स्वास्थ्य र सुरक्षा प्रति संवेदनशील छैन भन्ने प्रस्ट भएको बताए ।
उनले सरकारका मन्त्रीहरू अनुपस्थित हुनु भनेको सदनको लाचारीपन पनि भएको बताए । ‘सरकार संवेदनशील छैन भन्ने प्रस्ट हुन्छ । कमसेकम सरकारका मन्त्रीहरू स्वास्थ्यमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्री अनिवार्य उपस्थित हुनुपर्दथ्यो । सरकारको महत्त्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत हुँदाखेरी सरकारको उपस्थिति नहुनु दुर्भाग्य हो ।’ उनले संसद्मा भने ।
सांसद लामाले कोरोना महामारीको अवस्थामा स्वास्थ्यमन्त्रीले सरकारले के गर्दैछ, कसरी काम गर्नुपर्छ भनेर संसद्मा उठेका विषयहरू सुन्नु पर्ने बताए । ‘सांसदहरुले किटहरु नभएको, पिसिआर परीक्षण बढाउनु पर्छ भनेको कुरा सुन्नु पर्दैन ? त्यसको व्यवस्थापन कसरी गर्नुपर्छ ? सुन्न पर्दैन ? सिमानाको विवाद आइरहँदा रक्षामन्त्री र परराष्ट्रमन्त्री हुनुपर्छ की पर्दैन ? सिमानामा नागरिक अलपत्र परीरहेका छन् तीनलाई कसरी सुरक्षित ल्याउने सुन्नु पर्दैन ?’ उनले भने ।
सांसद लामाले जापानले एक जना नागरिकका लागि विमान चार्टर गरेर लान सक्छ भने वैदेशिक रोजगारीका लागि, शिक्षाका लागि लाखौँ विदेश गएका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर र संवेदनशील नभएको आरोप लगाए ।
उनले हिजो क्रान्तिको बेला ठूल्ठूला नारा लगाएर सीमाका कुरा उठाउने पार्टीहरू अहिले चुप लागेको समेत जिकिर गरे । ‘हिजो उफ्रि उफ्रि हाम्रो सीमा यहाँसम्म हो भन्ने हरू अहिले कुन दुलामा लुके ?’ उनले प्रश्न गरे ।