‘हात धोएर घरभित्र पस्नू, नत्र कोरोनाको डर हुन्छ’
काठमाडौं। धनगढी उपमहानगरपालिका–१३ का मोहन जोशीले शनिबार बहिनी अनितालाई सम्झाउँदै भने, ‘हात धोएरमात्र घरभित्र पस्नु, नत्र कोरोनाको डर हुन्छ।’ घर नजिकैको खेतमा बिहान बाख्रा चराएर फर्किएकी अनिताले दाइले भनेअनुसार साबुन पानीले मिचिमिचि करिब आधा मिनेट जति समय लगाएर हात धोएर खाना खाने तयारी गरिन्।
लगत्तै काम विशेषले उनीहरुको घर आइपुगेका एकजना छिमेकीले दाजु–बहिनीको संवाद सुनेर भने, ‘कोरोनाबाट जोगिन सरसफाइमा ध्यान पुर्याउने चेतना बढ्दा राम्रै भएको छ।’ तीनैजनाबीच केही समय कोरोना रोगले निम्त्याएको त्रासका बारेमा छलफल पनि भयो।
कोरोनाबाट जोगिनका लागि समूहमा नहिँड्ने, नयाँ मान्छेसँग भेट हुँदा टाढैबाट कुरा गर्ने, पटक पटक साबुन पानीले मिचिमिचि करिब आधा मिनेट जति समय लगाएर हात धुनुपर्ने कुरामा उनीहरु सचेत देखिन्थे। कोरोना संकटसँगै जारी लकडाउनको असर शहर बजारमा बढी देखिए पनि गाउँमा यसको त्यति पालना नभइरहेको तर्फ उनीहरुको चिन्ता देखिन्थ्यो। जोशीले भने, ‘गाउँमा मान्छेको चहलपहल खासै नघट्दा कोरोना निम्तिने खतरा छ, शहरमा भने लकडाउनले सुनसान भएको सुनिन्छ।’
विद्यालय बन्द भएर घरमै बस्नुपर्दा फुर्सदिला बनेका मोहन र अनिताले व्यक्तिगत रुपमा भएपनि सरसफाइमा ध्यान दिन थालेका छन्। दुवैबीच खाना पकाउने, तरकारी बारीमा झार निकाल्ने र तरकारीको बोटमा पानी दिने र बाख्रा चराउने कामको बाँडफाँड हुने गरेको पनि छ। विद्यालय बन्द भए पनि घरको पढाइ भने उनीहरुले नियमित गरिरहेका छन्। ‘बिहान बेलुका पुस्तक पढ्ने, केही समय टेलिभिजन हेर्ने गरेका छौँ, बाँकी दिउँसोको समय घरको काममा बुवाआमालाई सघाउने गरेका छौँ,’ अनिताले भनिन्।
साबुन पानीले हात धुनु केवल कोरोनाबाट मात्र बँचिने होइन यो एक स्वास्थ्य जीवनको आधारभूत कुरा पनि हो। हरेक व्यक्तिले आफूले आफ्नो घर होस् वा कार्यालय जहाँ जाँदा पनि गन्तव्यमा पुगिसकेपछि उक्त घरमा प्रवेश गर्नु अघि राम्ररी हात खुट्टा धुनु निकै उपयुक्त देखिन्छ। यसले एकातिर आफूलाई कोरोना जस्ता महामारी रोगको किटाणुरहित बन्नमा मद्दत पुर्याउँछ भने अर्का व्यक्तिको आनीबानीमा सुधार आई व्यक्तिगतरुपमा स्वस्थ्य र सफा रहन्छ।
सधैँ सरसफाइ गर्ने व्यक्ति निकै फुर्तिलो हुन्छ
विश्वभरमा फैलिरहेको कोरोनाले समाजमा निकै परिवर्तन ल्यायो अर्थात् निकै गतिलो संस्कारको पुनरावलोकन तथा अभ्यास गराएको आभाष गराएको छ। प्रायः खानाखानु पहिले सकेसम्म राम्ररी हात धुन बिर्सेका हामी मानव समुदायलाई कोरोनाको सङ्क्रमणको त्रासले एकै दिनमा पनि पटकपटक हात धुने बनाइ दिएको छ।
हात खुट्टा धुन लापरवाही गर्नेहरूका लागि कोरोनाले राम्रोसँग हात धुनपर्छ भन्ने सिकाएको छ। यति मात्र नभएर अझ घरबाहिरबाट घरमा पुगेपछि घरमा राम्रोसँग हातखुट्टा धोएर मात्रै घरभित्र बस्ने एक पुरानो तर वैज्ञानिक संस्कृति कोरोनाको त्रासले सिकाएको छ।
विद्यार्थीहरु मानसिकरुपमा अन्योल
वार्षिक परीक्षा नसकिँदै शैक्षिक संस्था बन्द भएपछि अब विद्यालयमा पढाइ हुने/नहुने भन्नेमा विद्यार्थीहरु मानसिकरुपमा अन्योलमा देखिँदा अभिभावक पनि चिन्तित देखिएको शिक्षक लेखराज ओझाले बताए। ‘विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइप्रतिको निरन्तरता कमजोर देखिन थालेको छ,’ उनले भने, ‘घरमा पढ्ने र विद्यालय गएर पढ्ने कुरा फरक हुने भएकाले विद्यार्थीमा अन्योलता देखिएको हो।’
जारी बन्दाबन्दीका कारण घर बाहिर निस्कन नसकेका कतिपय व्यक्ति आफ्नो स्वास्थ्य र सरसफाइप्रति सचेत हुँदा उनीहरुको रहनसहन र बानी व्यवहारमा परिवर्तन आउन थालेको छ। बन्दाबन्दीले बिनाकाम जहाँ पायो त्यहीँ जथाभावी हिँडिरहने पहिलेको बानी पनि छुट्न गई घरमै बसेर भान्सामै पाकेको खाना र खाजा खानुपर्ने अवस्था आएपछि धेरैको रहनसहन र बानी व्यवहारमा परिवर्तन आउन थालको हो।
‘कोरोनाको सङ्कटले धेरैलाई घरमै बन्दी बनाइदिँदा स्वास्थ्य र सरसफाइमा देखिएको सचेतनासँगै धेरैको जीवनशैली पनि फेरिन थालेको छ,’ स्थानीय बिस्नुराज बुर्लाकोटीले भने, ‘बजारका पसलमा पुगेर जङफुड खाने बालबालिकाको बानी अहिले फेरिँदा बालबालिकाको स्वास्थ्यमा पनि सुधार हुने देखिएको छ।’ बेलुका होटेल रेस्टुराँ पुगेर नियमितजसो मदिरा पान, धूम्रपान गर्ने बानी परेकाहरुको स्वास्थ्यमा सुधार ल्याउन पनि बन्दाबन्दीले टेवा पुर्याइरहेको छ।
‘अहिलेको अवस्थाले सुर्ती र चुरोट सेवन गर्ने र रक्सी खानेहरुको बानीमा निकै सुधार भई उनीहरुको खराब लत पनि छुटाउन मद्दत पुगेको छ,’ स्थानीय ढुङ्गे बजारमा भेटिनुभएका मजदुर सन्तोष चौधरीले भने।
मजदुरी पाउने अवसर गुमे
बन्दाबन्दीले उद्योग, पेशा, व्यवसाय सबै क्षेत्रमा प्रतिकूल प्रभाव परिरहँदा सबैभन्दा बढी मारमा दैनिक घर बाहिर निस्केर मजदुरी गरेर कमाइ गर्ने मजदुर वर्ग परेका छन्। कोरोनाले मजदुरी पाउने अवसर गुमेका कारण अब कमाइ कसरी गर्ने र कमाइ नगरे के खाने भन्ने समस्या आइलागेको गुनासो अर्का मजदुर रामप्रसाद चौधरीले बताए।
उनले दुखेसो सुनाउँदै गर्दा नजिकै रहेका अर्का मजदुर रमेश चौधरीले आग्रह गरे, ‘घरमा खान केही छैन सर, सरकारलाई भनिदिनुपर्यो।’ आफूसँग कुरा गर्ने मान्छे सरकारको कर्मचारी भएकाले राहत दिन आएको भन्ने बुझाई राखेका उनीहरु दुवैजना मजदुरी नपाउँदा जीविका कसरी चलाउने भन्ने चिन्तामा थिए। ‘काम गर्न पनि नदिने यो कोरोना रोग कहिले सकिन्छ सर, रमेशले प्रश्न गर्नुभयो, कतै काम पाइहालेमा कोरोना सर्ने होकी भन्ने डर पनि छ।’
एक महिनासम्म घरमा भएको नगद र अन्नपातले जेनतेन जीविका चलाएका कतिपय मजदुर लकडाउन लम्बिँदै जाँदा घरमा सामल सकिएको भन्दै भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेको गुनासो सुनाउँछन्। स्थानीय तहले विपन्न परिवारलाई राहतस्वरुप चामल, दाल, नुनलगायतका सामग्री वितरण गरिरहेको भए पनि पर्याप्त मात्रामा वितरण गरिएको छैन। जसका कारण घरमा रहेको खाद्यान्न सकिँदा कतिपय मजदुर साँझ बिहानको समयमा पेटभरी खान नपाइरहेको बताउँछन्।
कोरानाको संकटले छात्रछात्रा, मजदुर मात्र नभई हुनेखाने वर्गका व्यक्ति र विभिन्न पेशा व्यवसाय गरिरहेकाको दैनिकीको पनि फेरिन थालेको छ। बन्दाबन्दीले बनाएको पट्यार लाग्दो बसाइँका बीच धेरैले आफ्नो करेसाबारीमा साग, तरकारीखेती गर्ने, गोडमेल गर्नेजस्ता काम गरेर चित्त बुझाइरहेका देखिन्छन्।
‘स्कूल बन्द भएको दुई महिना पुग्न लाग्यो,’ शिक्षक ओझाले भने, ‘घरमा त्यसै बस्नुभन्दा तरकारी उत्पादन गर्न सकेमा साग तरकारी किन्नु पर्ने पैसा बचत हुन्छ।’ -रासस