आज सडक मानव छैन, यही नीति तथा कार्यक्रमको उद्देश्य होः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवाद उन्मुख नीति तथा कार्यक्रम ल्याएको बताएका छन्। राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मानव जीवन सुखी बनाउन आवश्यक मापदण्ड तयार गर्ने उद्देश्यका साथ सरकारले नीति तथा कार्यक्रम बनाएको बताए। उनले लोकतन्त्रको जग बलियो बनाउने दृष्टिकोणबाट सकारात्मक प्रयत्न गरिएको बताए।

उनले भनेका छन्, ‘सामाजिक न्याय र समानताको प्रबन्धसहितको लोकतन्त्र, राजनीतिक स्वतन्त्रताका हकहरू मात्र होइन, सम्पूर्ण हकहरू, जीवनका सबै आवश्यक तत्त्वहरू, समाजका आवश्यक तत्त्वहरू, अर्थतन्त्र, समाजतन्त्र, संस्कृति, पूर्वाधार, अरू सबै पक्षहरूसँग मानव जीवन खुसी बनाउनका लागि चाहिने मापदण्ड र त्यसका आवश्यकता, ती कुराहरूलाई समेत हामीले लोकतन्त्रमा परिभाषित गरेको छौँ। नयाँ ढङ्गले, नयाँ उचाइमा, फराकिलो ढङ्गले।’

उनले समाज रूपान्तरणका  लागि मानव जीवनले प्रजातन्त्र, समाजवाद वा अरू जुनसुकै नाममा प्रयोग गरिएका सकारात्मक अनुभवहरूबाट मार्ग निर्देशित हुनु पर्ने बताए। उनले लोककल्याणकारी राज्यमा वा जनताको राज्यमा कोही पनि मानिस पछि नपरोस् भन्ने भावनाका साथ समाजलाई तल देखि जुरुक्क उठाउने खालको कार्यक्रमको आवश्यकता रहेको बताए। उनले यही मान्यताका साथ कसैले पनि खान, लाउन पाइन भन्ने खालका मानवीय आजको सभ्य समाजका लागि अशोभनीय हुने कुराहरूको अन्त्य गर्न सकिने खालको नीति तथा कार्यक्रम ल्याउने प्रयत्न भएको दाबी गरे।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बाबु आमा नहुने बित्तिकै मानव समाजमा के सडक बालबालिकामा परिणत हुनु पर्ने ? के मानव समाज यति निर्दयी हुन सक्छ ? मेरो छोरा छोरी होइन त्यस कारण सडकमा कुकुरसँग खोसा खोस फोहोर फालेको ठाउँमा खानको लागि, बाच्नका लागि लडाइ गर्न परोस्, किन भने मेरो छोरा छोरी होइन त्यो भन्नेसम्मको निर्मम हुन सक्ने मानव समाज ? देशलाई योगदान गरेर बुढो भएको ज्येष्ठ नागरिक आज सडकमा बेसहारा फालिएको छ। लड्नु परेको छ। त्यस्तै समाज बनाउने हो आजको जमानामा  ?’

सरकारका पछिल्ला दुई वर्षको अवधिमा गरिब र सडक मानिसहरूका पक्षमा ठूलो कामहरू भएको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ। उनले आज सडकमा भिख माग्ने मानिस नरहेको दाबी गरे। उनले भने, ‘दुई वर्ष अगाडी काठमाडौंमा देख्नु हुन्थ्यो होला सडक बालबालिका, फोहोरको थुप्रोमा कोही प्लास्टिक तान्दै गरेको, कोही कुकुरसँग सुतीरहेको, कोही मागेर हिँडिरहेको, तर यी दुई वर्षमा सडक बालबालिका छैनन्। भिख मगुवा छैन सडकमा। विदेशी भोख मगुवाहरु पनि गए। सडक मानव छैनन्।’

उनले देशलाई आगामी वर्ष साक्षर घोषणा गर्न लागेको समेत बताए। विद्यालयमा सबै बालबालिकाको पहुँच पुर्‍याउने बताए। बालबालिकालाई विद्यालयमा टिकाउने प्रबन्धमा पनि सरकार लागेको प्रधानमन्त्री ओलीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *