नयाँ नक्सा जारी गर्ने प्रस्ताव मेरो हो, कसैको देवत्वकरण नगरौंः गौतम

काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले भारतले अतिक्रमण गरेको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय पार्टीको सामूहिक प्रयासबाट सम्भव भएको बताएका छन्। पार्टी बैठकमा आफ्नोसमेत जोडदार मागपछि पार्टीको निर्देशनअनुसार सरकारले निर्णय गरेकाले एक व्यक्तिको देवत्वकरण नगर्न आग्रह गरेका छन्।

बुधवार बिहान फेसबुकमा गौतमले लेखेका छन्, ‘अनुयायीहरू व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ। तर, यो निर्णय पार्टीको सामूहिक निर्णय प्रक्रियाअनुसार भएर नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ।’

नेपालका अतिक्रमित भूमिलाई समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टी बैठकमा आफूले लगेको उनको दाबी छ। ‘सुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु। यस पटक पनि छुटेका नेपाली भू–भाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरू सबैमा जानकारी गराउँछु।’ गौतमले लेखेका छन्।

उनले वर्तमान सरकारले गरेका अनेकौँ कदम आलोचनायोग्य भए पनि अतिक्रमित भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने काम स्वागतयोग्य भएको पनि बताएका छन्। उपाध्यक्ष गौतमले सिमाना व्यवस्थापन सम्बन्धित ऐतिहासिक अभिलेखलाई नयाँ नक्साले बलियो रूपमा आत्मसात् गरेर आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र ऊर्जा दिएको बताए।

‘वर्तमान सरकारका अनेकन् कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य छ। किनभने, सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रूपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र ऊर्जा दिने काम भएको छ।’ उनले भनेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *