कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन: क्रिमशन अस्पतालमा उपचाररत पुरुषको पनि मृत्यु
बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या तीन पुगेको छ ।
४१ वर्षिय ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज विहान ७ बजेर १० मिनेटमा मृत्यु भएको क्रिमशन अस्पतालले जनाएको छ ।
मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षिय शिक्षक हुन् । उनी बिरामी भएपछि अर्घाखाँचीको मेडिकलमा चेकजाँच गरेर क्रिमशन अस्पतालमा भर्ना भएका थिए ।
गत जेठ १ गते अस्पतालमा भर्ना भएका ती युवकको भोलीपल्टै स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।
रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रशाशकीय अधिकृत जनक थापाले अस्पतालबाट विरामीको मृत्यु भएको जानकारी आएको र आफुहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी दिइसकेको बताए ।
प्रदेश नं. ५ का सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले पनि विहान ७ बजेर १० मिनेटमा कोभिड–१९ ले ती विरामीको मृत्यु भएको बताए । ‘ती विरामीको विहान ७ बजेर १० मिनेट जाँदा कोभिड–१९ ले मृत्यु भएको हो । हामीले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराई सकेका छौं ।’ उनले मकालु खबरसँग भने ।
यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भइसकेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमतिको संख्या ४४४ पुगेको छ । जसमा ४५ जना निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो साता मुलुकमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ