क्वारेन्टाइनका लागि होटल तथा रिसोर्ट प्रयोग ल्याइने

काठमाडौं । विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टाइन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ ।

शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थित रूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टिन बनाउनेबारे आवश्यक परामर्श थालिएको बताए। उनका अनुसार हाल काठमाडौं उपत्यकामा ५ सय १८ शय्या तयारी अवस्थामा छन्। देशभर भने करिब ६५ हजार क्वारेन्टाइन तयारी अवस्थामा रहेकामा २५ हजार सर्वसाधारण क्वारेन्टाइनमा छन्।

देशभर क्वारेन्टाइनको अनुगमन र सहजीकरणको जिम्मेवारीमा रहेका राज्यमन्त्री मानन्धरले देश संकटमा परेका बेला ठूला होटललाई क्वारेन्टाइनका रूपमा व्यवस्थापन गर्न सरकारले पहल थालिरहेको बताउँदै यसमा व्यवसायीबाट आवश्यक सहयोगका अपेक्षा गरे। उनका अनुसार हाल खाली रहेका होटललाई निश्चित रकम तिरेर सरकारले जनताको जीवनरक्षाका लागि प्रयोग गर्न सक्ने छ।

विदेशमा विपद्मा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गरी ल्याएको अवस्थामा काठमाडौं उपत्यकामा आवश्यक क्वारेन्टाइनका लागि पूर्वतयारी गरिएको बताउँदै खाडी मुलुकमा श्रमका लागि गएका सर्वसाधारण सरकारको प्राथमिकतामा रहेको स्पष्ट गरे। हवाइमार्ग भएर फर्कनेका लागि उपत्यकामा अस्थायी क्वारेन्टाइन बनाइने र सम्बन्धित स्थानीय तहमार्फत व्यवस्थापन गरिनेबारे सरकारले छलफल गरिरहेको राज्यमन्त्री मानन्धरले जानकारी दिए।

केही स्थानमा क्वारेन्टाइन व्यवस्थापनमा कमजोरी देखिएको बताउँदै राज्यमन्त्री मानन्धरले तत्काल सुधारका लागि सरकारले आवश्यक समन्वय गरिसकेको जानकारी दिए। क्वारेन्टाइन व्यवस्थापनको खर्च संघीय सरकारले व्यहोर्ने बताउँदै उनले निर्धक्क भएर व्यवस्थापनमा लाग्न देशभरका स्थानीय सरकारलाई आग्रह गरे।

कार्यक्रममा अनुगमन तथा सहजीकरणको जिम्मेवारीमै रहेका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सरकारले बनाएको मापदण्ड अनिवार्यरूपमा पालना गर्न स्थानीय सरकारलाई आग्रह गरे। दार्चुला, बाँके, बर्दिया, जुम्ला, बाजुरा, पर्सा, कैलाली र कञ्चनपुरलगायत जिल्लामा भारतबाट आउने सर्वसाधारणको व्यवस्थापनमा समस्या देखिए पनि राज्यमन्त्री रावतले व्यवस्थापनमा कमजोरी हुन नदिइने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *