आलोचकहरू पनि अब राजसंस्थाको पक्षमा देखिनेछन्ः लोहनी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकमा अब आलंकारिक राजसंस्था आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा लोहनीले आलोचकहरू पनि अब राजसंस्थाका पक्षमा देखिन थालेको पनि बताएका हुन्।

देशमा आलंकारिक राजसंस्थाको आवश्यकता छ भन्ने चेतना आलोचकहरूमा आउनेमा उनले विश्वास व्यक्त गरेका छन्। उनले राजाको प्रखर आलोचकका रूपमा चिनाएका डा. बाबुराम भट्टराईले पनि संविधान भित्र राजसंस्थाको आवश्यकता महसुस गर्नेमा आफू विश्वस्त रहेको लोहनीले उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रले दरबार छोडी सकेपछि पनि पूर्वराजा ज्ञानेन्द्रको प्रखर आलोचकको रूपमा आफूलाई चिनाउँदै आएका थिए। तर आज पूर्वराजा ज्ञानेन्द्रको प्रखर प्रशंसक बनेको पढेँ, त्यसमा खुसी लाग्यो। अब संविधान भित्र आलंकारिक राजसंस्था नेपालमा नभई नहुने रहेछ भन्ने चेतना डा. भट्टराई मा पक्कै आउनेछ।’

राजसंस्था सहितको प्रजातन्त्रको पक्षधर लोहनी भ्रष्टाचार विरोधी अभियानमा समेत सक्रिय छन्। सामाजिक न्याय, समावेशी प्रजातन्त्रका पक्षधर लोहनी, अन्याय र अत्याचार विरुद्ध बोल्ने वक्ताका रूपमा परिचित छन्। पछिल्लो समय राजनीतिमा उनले युवा पुस्ताको पैरवी गर्दै छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *