९० हजार बढी आरडिटी परीक्षण हुँदा ६०३ मा संक्रमण पुष्टि, ४२ जिल्लामा फैलियाे कोरोना !
काठमाडौं । नेपालमा हालसम्म पिसिआर परिक्षण ४८ हजार ८१५ र आरडिटी विधिबाट ९० हजार २६ वटा थ्रोब स्वाब नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गएको २४ घण्टामा पिसिआरबाट २ हजार ८५६ र आरडिटी विधिबाट ३ हजार ७९१ थ्रोट स्वाब नमुना परीक्षण भएका छन् ।
त्यस्तै देशभर ३९ हजार ८०४ जना क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा ५१३ जना रहेका छन् । आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६०३ पुगेको छ । ८७ जना डिस्चार्ज भएका छन् ।
आज नुवाकोटका एक जनामा संक्रमण पुष्टि भएसँगै ४२ जिल्लामा संक्रमण फैलिएको छ । प्रदेश १ का ७ जिल्लामा गरी ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रदेश २ का सबै ८ वटै जिल्लाहरुमा १७९ जना, बागमती प्रदेशका ११ जिल्लामा ३४ जना, गण्डकी प्रदेशका ३ जिल्लामा ५ जना, प्रदेश नम्बर ५ का ७ जिल्लामा २८१ जना, कर्णाली प्रदेशका २ जिल्लामा ४ जना, सुदुरपश्चिमका ४ जिल्लामा १४ जना संक्रमित रहेका छन् ।