क्वारेन्टाइन र सामाजिक दूरी कायम गर्दै सैनिक तालीम शुरु

काठमाडौँ । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सातौँ समूहको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालीम शुरु भएको छ ।

नेपाली सेनाका उच्च तहमा पुग्न अनिवार्य रहेको उक्त तालीमको बलाधिकृत रथी शरदकुमार गिरी आज उद्घाटन गर्दै शिक्षार्थी अधिकृतहरुको पेशागत ज्ञान बढ्न गई समग्र संस्थाको क्षमता अभिवृद्धि हुने बताए ।

उनले भने, “हालको जटिल अपरेशनल वातावरणमा समयसापेक्ष निर्णय लिन सक्ने भावी नेतृत्व उत्पादनमा समेत तालीमले महत्वपूर्ण सहयोग पुर्‍याउनेछ ।

उक्त तालीममा २५ जना महासेनानीको सहभागिता छ । नेपाली सेनामा पहिलोपटक सञ्चालन गरिएको अल आर्मस् कमाण्ड तथा स्टाफ कोर्स (एएसिएससी) को सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले प्रथम प्रवचन गरेका छन् ।

अधिकृतस्तरको ५० जना प्रशिक्षार्थी समावेश उक्त तालीममा आर्मी कमाण्ड तथा स्टाफको प्रवेश परीक्षामा उत्तीर्ण भए पनि मर्यादाक्रममा नपरेका अधिकृतको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सञ्चालित उक्त तालीम कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यानमा दिई शिक्षार्थी अधिकृतलाई पूर्णरुपमा क्वारेन्टिनमा राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *