आरडिटी पोजेटिभ आएकाको पीसीआर रिपोर्ट नेगेटिभ
चितवन। आरडिटी पोजेटिभ आएका चितवन रत्ननगरका तीनसहित चार जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। भारतबाट आएर रत्ननगरको बकुलहरमा क्वारेन्टिनमा बसेका धादिङका एक युवा, रत्ननगर बस्दै आएकी महिला प्रहरी, तरकारी ओसार्ने गाडीका चालक रत्ननगर २ निवासी एक युवाको आरडिटी रिपोर्ट पोजेटिभ आएको थियो।
आरडिटी पोजेटिभ आएका तीन जना र भारतबाट धादिङका युवासँगै आएका रत्ननगर १२ का अर्का युवाको पनि पीसीआर गरिएको थियो। भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा चारै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको रत्ननगर स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए।
उनीहरूको रत्ननगर १४ स्थित गुञ्जमान अस्पतालमा स्वाब संकलन गरी प्रयोगशाला पठाइएको थियो । रत्ननगर नगरपालिकाले भारतबाट आएका आफ्ना नगरवासीलाई वडागतरुपमा क्वारेन्टिनमा राखेको छ। आरडिटी र पीसीआर परीक्षण गरी नेगेटिभ आएमा उनीहरूलाई घर पठाउने गरिएको छ।