विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याइँदै, २५ हजारको तत्काल उद्धार गरिने

काठमाडौं । सरकारले कोरोना भाइरस भाइरस (कोभिड-१९)का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालेको छ ।

सोहीअनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र परेका नेपालीको फिर्ता र उनीहरूको व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गरेको छ । बैठकले क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले तयार पारेको भारत तथा तेस्रो मुलुकबाट नेपालीको उद्धारसम्बन्धी कार्यविधि पारित गरेको कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।

उनका अनुसार अब कार्यविधिअनुसार नै भारतबाट आउने नेपालीलाई उनीहरूकै स्थानीय तहमा पठाउने र तेस्रो मुलुकबाट प्राथमिकताका आधारमा उद्धार गरिनेछ । तेस्रो मुलुकबाट मात्रै झन्डै १० लाख नेपाली स्वदेश फर्किने क्राइसिस म्यानेजमेन्ट सेन्टरको अनुमान छ । भारतबाट करिब ३ लाख नेपाली स्वदेश फर्किने अनुमान गरेको छ ।

नेपाल आइसकेपछि उनीहरूलाई काठमाडौं, धुलिखे ललगायत विभिन्न क्षेत्रका होटलमा क्वारेन्टाइनमा राख्ने र पीसीआर परीक्षण गरेपछि मात्रै सम्बन्धित स्थानीय निकायमा पठाउने कार्यविधि सरकारको छ । तर भारतबाट फर्किने नागरिकको हकमा भने उनीहरूलाई बढीमा दुई दिन नाकामा राख्ने र गाडी चढाएर सम्बन्धित स्थानीय तहमै पठाइनेछ ।

तत्काल २५ हजार नेपाली ल्याइने
सरकारले खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई तत्काल उद्धार गर्ने भएको छ । कुवेतमा अवैधानिक रूपमा बसेर आममाफी पाएका करिब ३ हजार र यूएईमा रहेका २८ गर्भवतीसहितका नागरिक उद्धारको पहिलो सूचीमा रहेका छन् ।

परराष्ट्रमन्त्री मन्त्रालयका अनुसार सम्बन्धित सरकारबाट आममाफी पाएर कामविहीन भएका, कामको करार अवधि सकिएका, गर्भवती, रोजगारी गुमाएर नेपाल आउन तयारी अवस्थामा रहेका, छोटो अवधिको भिसामा गएका करिब २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा उद्धार गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *