चौरजहारी घटनाः गोताखोरद्वारा भेरी नदीमा बेपत्ताको खोजी सुरु

काठमाडौँ । रुकुमको चौरजहारी घटनामा भेरी नदीमा बेपत्ता भएका तीन जनाको खोजी तालिमप्राप्त खोताखोरहरुले सुरु गरेका छन् ।

जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ बस्ने वीरबहादुर मल्लकी छोरी १७ वर्षीया सुष्मालाई भगाई ल्याउनका लागि जाजरकोट भेरी नगरपालिका–४ का मोहन विकका छोरा २१ वर्षीय नवराजसहितको १९ जनाको समूह स्थानीय सोती पुगेको थियो । केटीको आमाले हारगुहार गरेपछि स्थानीय जम्मा भइ केटा पक्षलाई भेरी नदीतर्फ लखेटेका थिए । ज्यान जोगाउन हाम फालेकामध्ये ३ जनाको शव फेला परेको छ भने ३ जना अझै बेपत्ता छन् ।

तीनैको खोजीमा सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्म बाट डीएसपीको कमाण्डमा चार जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोली परिचालित भएको हो ।

मृतक नवराज विकको शव जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ स्थित भेरी नदीको बीचभागमा फेला परेको थियो । त्यस्तै रुकुम पश्चिम चौरजहारी–१ का लामिछाने बस्ने २० वर्षीय टीकाराम सुनारको शव जेठ ११ गते र जाजरकोट भेरी नगरपालिका–४ का १७ वर्षीय गणेश बुढाको शव फेला परेको थियो हालसम्म फेला परेका शव परीक्षणका लागि जाजरकोट अस्पतालमा राखिएको छ ।

त्यस्तै घटनामा संलग्न युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र स्वयं युवती सुष्मा, वडाध्यक्ष डम्बर मल्ल, प्रत्यक्ष घटनामा संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुन मगर, रमेश मल्लासहित १२ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *