रसियामा कोरोना संक्रमण उच्चतम विन्दुमा, भारतमा संक्रमित संख्या डेढ लाख नाघ्यो
काठमाडौं । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोना भाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको मंगलबार घोषणा गरेका छन् । राष्ट्रपति पुटिनले विज्ञहरुको भनाईमा रसियामा कोरोनाभाइरस संक्रमणले उच्चतम विन्दु पार गरेको बताएको रसियाली रक्षामन्त्री सर्गेइ सोइगुले जानकारी दिएका छन् ।
रसियाली स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार रसियामा कोरोना संक्रमितको संख्या तीन लाख ६२ हजारभन्दा बढी छ भने तीन हजार ८०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या ५७ लाख नाघेको छ भने मृत्यु भएका व्यक्तिहरुको संख्या पनि तीन लाख ५० हजारभन्दा बढी भइसकेको छ ।
त्यस्तै भारतमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएका व्यक्तिको संख्या छ हजार ३८७ रहेको छ ।भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार भारतमा कूल संक्रमितको संख्या एक लाख ५१ हजार ७६७ पुगेको छ ।
कोरोना संक्रमणबाट विगत चौबीस घण्टामा १७० जनाको मृत्यु भएको छ । यो सहित भारतमा कूल मृत्यु भएका व्यक्तिको संख्या चार हजार ३३७ भएको मन्त्रालयले जनाएको छ । उपचारको क्रममा रहेकामध्ये ६४ हजार ४२५ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
भारतीय राज्य महाराष्ट्रमा कोविड–१९ बाट सर्वाधिक मानिस प्रभावित भएका छन् । यहाँ हालसम्म ५४ हजार ७५८ जना संक्रमित भेटिएका छन् । तमिलनाडुमा १७ हजार ७२८ तथा गुजरातमा १४ हजार ८२१ जना तथा भारतीय राजधानी नयाँदिल्ली प्रदेशमा १४ हजार ४६५ जना संक्रमित देखिएका छन् । (रासस–एएनआई)