आरडीटी परीक्षणले समाजलाई आतंकित बनायोः राजेन्द्र कुमार केसी
काठमाडौं। नेपाली काँग्रेसका सांसद राजेन्द्र कुमार केसीले आरडीटीबाट कोरोना परीक्षण गरिदा समाज आतंकित हुने गरेको बताए। आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद केसीले कोरोना परीक्षणको भरपर्दो प्रविधि अपनाउन सरकारसँग आग्रह गरे।
आरडीटी परीक्षण गरेर समाज आतंकित बनाउनु भन्दा पीसीआर प्रविधिबाट परीक्षणको दायरा बढाउनु पर्नेमा जोड दिए। उनले भने, ‘हालै आरडीटी परीक्षण गर्दा चन्द्रागिरि नगरपालिकामा ५६ जना सङ्क्रमित फेला परे। हामीले क्वारेनटाइनमा राख्यौं। पाँच दिनसम्म पीसीआर रिजल्ट आएन। छैटौँ दिनमा तिमीहरू मुक्त छौँ भन्दा जनता कति आतंकित भए होला।’
सांसद केसीले पीसीआर प्रविधि मात्र कोरोना परीक्षणको एक मात्र उपाय भएको बताए। उनले डब्लुएचओ र नेपालको अनुसन्धान केन्द्रले समेत मान्यता नदिएको आरडीटी परीक्षण गरेर समाजलाई आतंकित नपार्न आग्रह गरे। उनले आरडीटी प्रविधि भनेको गलत प्रविधि भएको बताए। तर सरकार फेरि पनि आरडीटी प्रविधि किनेर किन जनतालाई अलमलमा पारिरहेको छ भन्दै उनले स्वास्थ्य मन्त्रीलाई जवाफ दिन आग्रह गरे।
उनले भने, ‘आरडीटी प्रविधि गलत छ। फेरि स्वास्थ्य मन्त्री आरडीटी नै किनेर जनतालाई किन अलमलमा पार्नुहुन्छ ? त्यसको मलाइ जवाफ चाहियो। पीसीआर प्रविधि मात्र यसको अन्तिम विकल्प हो। त्यस कारण ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर पीसीआर तिर जान म अनुरोध गर्न चाहन्छु। यस्तो अविश्वसनीय प्रविधि किनेर स्वास्थ्य मन्त्री किन जनतालाई आतंकित बनाउँदै हुनुहुन्छ।’