कोरोना संक्रमणबाट ललितपुरमा १ जनाको मृत्यु, ज्यान गुमाउनेकाे संख्या पाँच पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । आज (बुधबार) ललितपुरको बुङमतीका ५७ वर्षीय पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या पाँच पुगेको हो ।

अल्कोहलिक लिभर डिजिजका कारण जेठ ११ गते ललितपुरको किस्ट अस्पताल भर्ना भएका उनको १२ गते उनको स्वाब परीक्षणका लागि पठाइएको थियो । जिल्ला प्रहरी कार्यालय ललितपुर स्राेतका अनुसार आज मृत्यु भएलगत्तै आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही निर्वाचन क्षेत्रकी सांसद पम्फा भुसालले पनि एक जनाको मृत्यु भएको पुष्टि गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘दुःखद खबर । ललितपुरमा पनि एकजनाको कोरोना भाइरसका कारणबाट दुखद निधन भएकोछ । मृतकप्रती हार्दिक श्रदाञ्जली र परिवारजनमा संवेदना व्यक्त गर्दछु ।’

नेपालमा काेराेना संक्रमणबाट यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा गरी चार जनाले ज्यान गुमाइसकेका छन् ।  नेपालमा अहिलेसम्म ८८६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने संक्रमितमध्ये १८३ जना उपचारपछि निकाे भइसकेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *