‘रुकुम घटनामा गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ’

काठमाडौं । नेपाल दलित विद्यार्थी संघका अध्यक्ष कमल विश्वकर्माले रुकुम घटनामा सरकार संवेदनशील नभएको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । आज रिपोर्टस क्लबमा बोल्दै विश्वकर्माले गृहमन्त्री बादललाई पदमा बस्न नैतिकताले नदिने भन्दै तत्काल राजिनामा दिन भने ।

रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ मा घटेको घट्नाको सरकारले गम्भिर रुपमा लिनुपर्ने र दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने उनको माग छ । उनले घट्नाको सम्बन्धमा सत्य, तथ्य छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने र त्यसमा दलित आयोग र दलित समूदायका साथीहरुलाई पनि राखिनुपर्ने धारणा राखे । ‘बलात्कार, हत्याका घट्ना हुँदा अहिलेसम्म दोषीलाई कारबाही गर्न सक्नुभएन । पदमा बस्न लाज लाग्दैन् । निर्मला पन्तको बलात्कारपछि हत्या घट्नादेखि आज नवराज बिकको हत्याकाण्डसम्म आउँदा गृहमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्छ ।’

नवराज हत्याकाण्ड नेपालको संविधान र कानूनको धज्जी उडाएको उनको भनाई छ । मुलुकको गृहमन्त्री भैसकेका जनार्दन शर्मा र शक्ति बहादुर बस्नेतको क्षेत्रमा घट्ना घट्नु र आजसम्म न्याय नपाउनु भनेको लज्जाको विषय भएको उनले प्रश्न उठाए । ‘दुई दुई जना व्यक्ति गृहमन्त्री भैसकेको ठाउँमा जुन घट्ना घट्यो, यदि उहाँहरु न्यायप्रेमी हुनुहुन्थ्यो भने न्यायको लागि यत्रो दिनसम्म संघर्ष र आन्दोलन गर्नुपर्दैन थियो, हिजो तपाईहरु नवराज बिकहरु जस्तैले बनाएका बन्दुकको बलमा सत्तामा पुग्नुभयो । बन्दुक उठाउनु नपरोस ।’

नेपाल दलित विद्यार्थी संघले उक्त घट्नालाई कुनैपनि हालतमा तोडमोड गर्न नहुने बताएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष, नेविसंघका पूर्व केन्द्रिय सदस्य तथा दलित विद्यार्थी संघका पनि पूर्व अध्यक्ष मञ्जित ताम्राकारले २१औं शताब्दीमा यस्तो घट्ना घट्नु भनेको निन्दनीय भएको बताए ।

‘यो घट्ना दलित समूदायमाथि मात्रै भएको घट्ना होईन । जनार्दन शर्माको निर्देशनमा यो घट्ना भएको हो । संसदमा उहाँ बोल्दै गर्दा पीडक बचाउने किसिमको उहाँको भनाई थियो ।’ उनले भने । नवराज बिकलगायत युवाहरुलाई गाउँमा हत्या गरेर भेरी नदीमा बगाईएको उनको आरोप छ ।

उनले जतिसक्दो चाँडो यो घट्नाको सत्य, तथ्य बाहिर ल्याउनको लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्नेपनि माग गरे । घट्नाको बारेमा सत्य, तथ्य बाहिर आउने भएकोले वर्तमान सरकारले अहिले उच्चस्तरीय संसदीय समिति बनाउन नचाहेको उनको गम्भिर आरोप छ । ‘हिजो पूर्व गृहमन्त्री जनार्दन शर्माले मन परेको व्यक्ति र उहाँले संरक्षण दिएको व्यक्तिलाई अहिले संयोजक बनाएर यो घट्नाको बारेमा छानबिन समिति बनाईएको छ । उहाँहरु दोषीहरुलाई उम्काउन खोज्दै हुनुहुन्छ । दलितहरुको रगतमाथि होली खेल्ने अधिकार जनार्दन शर्मालाई छैन ।’

उनले उक्त घट्नालाई नरसंहारको संज्ञा दिए । उनले नवराजलगायत अरु मृत्तकका परिवारले न्याय नपाउँदासम्म आन्दोलन र संघर्ष सशक्त बनाउनेपनि बताए । उनले भने,‘यदि न्याय नपाए हामी अन्तर्राष्ट्रिय अदालतमा न्यायको लागि जान्छौं ।’

कार्यक्रममा नेविसंघका महामन्त्री युवराज पाण्डेले उक्त घट्नाको विरुद्धमा सिंगो मानवता पक्षधर विश्व समूदाय एक ठाउँमा उभिएको सुनाउँदै आफ्नो संगठनको एक्येबद्धतामात्रै नभई पूर्ण साथ रहेको स्पष्ट पारे । ‘रुकुमपश्चिममा जुन नरसंहार भएको छ । यो मानवताविरोधी अत्यन्तै पाश्विक घट्ना भयो । अन्तरजातीय प्रेमसम्बन्धलाई विषय बनाएर युवाहरुको क्रुर हत्या गरियो, यो निन्दनीय छ ।’ उनले भने ।

नेपाल दलित विद्यार्थी संघका बरिष्ठ उपाध्यक्ष डम्बर सुनारले रुकुमपश्चिमको घट्ना कुनैपनि कोणबाट क्षम्य नभएको भन्दै दोषीलाई कडाभन्दा कडा सजाय गरिनुपर्ने माग गरे । उनले दोषीहरुलाई आजिवन कैद सजाय दिनुपर्नेपनि माग गरे ।

सुनारले भने,‘यो घट्नालाई राजीतिकरण गर्न खोजिएको छ । त्योभन्दापनि अझै यो घट्नालाई बंग्याउन खोजिएको छ । यो घट्नाका दोषीलाई दोषी करार गर्ने कुरा त परै जाओस, त्यसमा संलग्न भएका तथाकथित उच्च जात भनाउँदाहरु यो घट्नामा उनीहरुको संलग्नता नै छैन भन्नेजस्तो देखाउन खोजेका छन् ।’ उनले स्थानीय जनप्रतिनिधि, पूर्व गृहमन्त्रीद्धय जनार्दन शर्मा र शक्ति बस्नेतलगायतले घट्नालाई बंग्याउने चलखेल गरिरहेको पनि गम्भिर आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *