नेयमारले बार्सिलोना छाडे, विश्वका सर्वाधिक महंगा खेलाडीको रुपमा पिएसजीमा अनुबन्धित
“
काठमाडौं, साउन २० । बार्सिलोनाका स्टार फरवार्ड नेयमार अन्ततः फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् । नेयमारले पिएसजीसँग बिहीबार राति पाँचबर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् ।
पिएसजीले नेयमारलाई स्पेनिस क्लब बार्सिलोनाबाट कीर्तिमानी मूल्य २०० मिलियन पाउण्डमा क्लबमा अनुबन्धन गरेको हो । उनले पिएसजीबाट बार्षिक ४५ मिलियन युरो तलब पाउनेछन् । यस्तै उनले प्रतिसाता ५ लाख पाउण्ड प्राप्त गर्नेछन् ।
योसँगै ब्राजिलियन २५ बर्षिय स्टार नेयमार विश्वका सर्वाधिक महंगा खेलाडी भएका छन् । पिएसजीसँगको सम्झौतापछि नेयमारले महंगा खेलाडीमा म्यानचेस्टर युनाइटेडका पाउल पोग्वालाई विस्थापित गरेका छन् । पोग्वालाई गत सिजन युभेन्टसबाट क्लब भित्र्याउँदा युनाइटेडले १०५ मिलियन पाउण्ड तिरेको थियो ।
सम्झौतापछि नेयमारले पिएसजीमा अनुबन्धित हुँदा आफु खुशी र उत्साहित रहेको तर आफुलाई निकै चुनौती रहेको बताए । युरोपको फुटबल निकै प्रतिस्पर्धात्मक र महत्वाकांक्षी रहेको बताउँदै नेयमारले भने, “पिएसजीमा आउँदा निकै खुशी छु र मलाई निकै चुनौती पनि छ । तर, मलाई मेरो टिमका साथीहरु र क्लबको प्रेरणाले म यहाँ छु । जब म युरोप आएँ, यहाँ निकै प्रतिस्पर्धात्मक र महत्वाकांक्षी पाएँ । त्यही महत्वाकांक्षीले गर्दा म पिएसजी आउन सके ।”
नेयमार सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोना आएका थिए । नेयमारले बार्सिलोनामा रहँदा प्रायः सबैखाले प्रतियोगिताको उपाधि जितेका थिए ।
बार्सिलोनासँग उनको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ । तर, एक वर्षे सम्झौता बाँकी रहँदै नेयमार पिएसजी गएका हुन् ।
नेयमार बार्सिलोनामा अन्य दुई स्टार लियोनल मेस्सी र लुइस स्वरेज रहेको कारण आफु पछि पर्ने देखेर पिएसजी गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
नेयमार पिएसजी गएसँगै बार्सिलोनाले तीन विश्वस्तर स्ट्राइकरलाई अब एकै छोटो मैदान उतार्न नपाउने भएको छ । यसअघि बार्सिलोनामा नेयमार, मेस्सी र स्वारेजको जोडी ‘एमएनएस’ निकै चर्चित रहेको थियो ।
“