नेपालीले विदेश घुमेरै सके ४ महिनामा ३५ अर्ब

विदेश यात्रामा नेपालीले चार महिनामै ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन्। यो रकम चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो। यो अवधिमा नेपाल आउने विदेशी पर्यटकले यात्रामा २५ अर्ब ५ करोड रुपैयाँ मात्रै खर्च गरेका छन्। नेपालीले विदेश यात्रामा खर्च गरेको रकम विदेशी पर्यटकबाट भएको आम्दानी भन्दा झण्डै १० अर्ब रुपैयाँले बढी छ। 

नेपालीले विदेश भ्रमणमा जाँदा खर्च गरेको जहाजको टिकट रकम समेत यसमा जोडिएको छ। ‘नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने २९ मध्ये २६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेवा दिइरहेका छन्। यसबाट ठूलो रकम बाहिरिएको छ’, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने। 

विदेशी विनिमय सञ्चिति घटेपछि विदेश जानेलाई प्रवेशाज्ञा र टिकटका आधारमा नगदमा दिइने विदेशी मुद्रा सुविधा २५ सय डलरबाट कटौती गरेर १५ सय अमेरिकी डलर बनाइएको छ। तर भुक्तानी फछ्र्यौट गर्नुपर्ने भएकाले सञ्चित विदेशी मुद्रा खर्च गर्नुपर्ने बाध्यता छँदैछ। 

null

नेपालबाट रोजगारीका लागि विदेशिने कामदारको संख्या घटे पनि अध्ययनका लागि बाहिरिने विद्यार्थी तथा पर्यटकका रूपमा घुम्न जाने नेपाली, कर्पोरेट हाउस तथा अन्तर्राष्ट्रिय ब्राण्डका बिक्रेताको प्रोत्साहन यात्रा (इन्सेन्टिभ टुर) मा जाने नेपालीको संख्या बढिरहेको डेपुटी गभर्नर शिवाकोटी बताउँछन्। गत आर्थिक वर्ष २०७४÷७५ को पहिलो चार महिनामा यस्तो खर्च २५ अर्ब १४ करोड थियो। 

अर्थशास्त्री केशव आचार्यले विदेश यात्रामा नेपालीले गर्ने खर्चमा भएको वृद्धिका सम्बन्धमा संवेदनशील ढंगले सोच्न आवश्यक भइसकेको बताए। ‘यसमा नियन्त्रण गर्ने भन्दा पनि खर्च कम गर्ने उपायको अवलम्बन गर्नुपर्छ’, उनले भने। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *