आज तामाङ समुदायको सोनाम ल्होछार, यस्तो छ महत्व

माघ ११, काठमाडाैं । आज माघ ११ गते तामाङ समुदायले विविध कार्यक्रम गरी सोनाम ल्होछार मनाउँदैछन् । सोनाम ल्होसार तामाङ समुदायको नयाँ वर्ष पर्व पनि हो । मञ्जुश्री पात्रोअनुसार आजबाट २८५६ औं वर्ष सुरु भएको छ ।   

आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । 

ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएको छ । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । पर्वका अवसरमा वाग्मती प्रदेशले अघिल्लो दिन शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको थियो । 

आज सोनाम ल्होछारका अवसरमा नेपाल तामाङ घेदुङलगायत जातिय संस्थाले राजधानीको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्नेछन् । भने विभिन्न जिल्ला र प्रदेशमा रहेका तामाङ समुदायले पनि सांस्कृतिक कार्यक्रम गरी शुभकामना आदान प्रदान गर्ने गर्दछन् ।   

सोनाम ल्होछारको महत्व 

ल्होछारको अवसरमा परदेश गएका आफन्त घरमा आउने, कुलकुटुम्ब, इष्टमित्र एवं चेलीबेटीलाई बोलाएर मिठामिठा पकवानहरु खुवाउने, नयाँ कपडा लगाउने र परम्परागत लोकसंस्कृतिले भरिपूर्ण गीत–संगीतमा नृत्य गर्दै रमाइलो गरिने भएको हुदाँ यसले सामाजिक महत्त्व राख्दछ ।   

धर्मचन्द्र योञ्जन तामाङले लेख्नुभएको एक लेखमा सोनाम ल्होछार वारेको धार्मिक, सामाजिक, आर्थिक, स्वास्थ्य एवं राजनीतिक महत्व बारे निम्न बुँदामा चर्चा गरिएको पाइन्छ ।   

किंवदन्ती अनुसार भगवान बुद्धको आयु सकिएर जब स्वर्ग फर्कने समय भयो, त्यस बखत बुद्धले पृथ्वीलोक छोड्नुअघि पृथ्वीका सम्पूर्ण प्राणीहरुलाई अन्तिम भेटका निमित्त आमन्त्रण गर्नुभयो । भगवान बुद्धको निमन्त्रणा स्वीकार गर्दै अन्तिम दर्शनका निमित्त १२ ओटा जीवजन्तूहरु पुगे। ती जनावरहरुमा क्रमशः मुसा, गोरु, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बदेल थिए । आफ्नो विदाईका लागि आएका यी १२ ओटै जीवजन्तूहरुलाई बुद्धले आफ्नो अनुपस्थितीमा पृथ्वीमा मुसादेखि बदेलसम्म क्रमशः पालैपालो शासन गर्न आदेश दिनुभयो । यसै समयदेखि मुसादेखि बदेलसम्मका १२ ओटा जीवजन्तूहरुको नामबाट ‘ल्हो’ वर्ष गन्ने प्रचलनको सुरुवात भएको भन्ने विश्वास गरिन्छ । 

बौद्ध ज्योतिष शास्त्रमा आधारित ल्होछार परम्परा अन्धविश्वासमा चलेको संस्कृति होइन । यो चन्द्रमाको गति र प्राकृतिक विज्ञानको नियममा आधारित भएकोले कुन समयमा कुन काम गर्ने र कुन अन्नबाली कुन समयमा लगाउने भन्ने विषयमा पर्याप्त ज्ञान दिन्छ । तसर्थ ल्होछारले प्रकृतिको नियमलाई समेत बुझ्न सहयोग र्पुयाउँदछ । 

मानव जीवनमा पञ्च तत्व(खाम)को ठूलो महत्त्व हुन्छ । जल, वायु, अग्नी, काठ र धातु जस्ता पञ्चतत्वले मानव शरीरको महत्त्वपूर्ण अंगहरु फोक्सो, मुटु, मृगौला, आन्द्रा र कलेजोलाई नियमित गर्न मद्दत गर्दछ । पृथ्वीमा जति पानी र जमीनको भाग छ त्यस्तै अनुपातमा मानव जीवनमा रगत र मासुको भाग छ । ल्होछार विज्ञान सम्मत समेत रहेको चर्चा गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *