२७ जिल्लामा स्क्रब टाइफसको संक्रमण, १०४ जना संक्रमित
“
चितवन, २० साउन । नेपालमा विभिन्न २७ जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माका अनुसार पछिल्लो प्रतिवेदनबाट २७ जिल्लामा संक्रमण फैलिएको देखिएको छ । साउन महिनाको अहिलेसम्म १०४ जना संक्रमित भएको पाइएको र यो बढ्दो क्रममा रहेको डा शर्माले जानकारी दिनुभयो ।
सबैभन्दा बढी चितवनमा संक्रमण पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा साउन १९ गतेसम्म २४३ जनाको परीक्षण गरिएको र ६१ जनामा स्क्रब टाइफस भेटिएको बताउनुभयो । चितवनको भरतपुर अस्पतालमा २२, रत्ननगर अस्पतालमा तीन, नारायणी सामुदायिक अस्पतालमा २५ र चितवन मेडिकल कलेजमा ११ जनामा रोग फेला परेको केसीको भनाइ छ ।
इपिडिमियोलोजी शाखाका प्रमुख शर्माका अनुसार अघिल्लो वर्ष नेपालमा ८३१ जना यो रोगबाट संक्रमित भएकामा १४ जनाको मृत्यु भएको थियो । चितवनमा भने १०९ जनामा संक्रमितमध्ये चारजनाको ज्यान गएको थियो । ज्वरो आएपछि औषधि पसलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता पैदा हुने गरेको भन्दै उहाँले सामान्य ज्वरो आउनेबित्तिकै स्वास्थ्य संस्था जान सर्वसाधारणलाई आग्रह गर्नुभयो । समयमै अस्पताल गए रोग निको हुने उहाँको भनाइ छ ।
माइट नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा यो रोग सर्छ । यो रोग किटाणु मुसाको कानमा बस्ने गर्छ । एउटा माइटमा रोग संक्रमण भएपछि फुलमा सर्ने र यसको संक्रमण २४ पुस्तासम्म जाने अध्ययनले देखाएको शर्माले बताउनुभयो ।
नेपालमा २०७२ सालमा पहिलोपटक यो रोग देखा परेको थियो । चितवनमा २०७३ सालमा यो रोग देखिएको थियो । गएको वर्ष चितवनमा मुसा र माइटमा गरिएको अध्ययनमा समेत संक्रमण भेटिएको थियो । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्छ । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीरमा पीडा हुने गर्छ । रासस
“