न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की !

 

जेठ १, काठमाडौं । अस्पतालको लापरवाहीले ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बाबुले न्याय माग्दा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । 

वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी आकृतिका बाबु रामप्रवेश साहले बुधबार पत्रकार सम्मेलन गर्दै धम्की आएको बताएका हुन् । 

null

छोरीको शव कहाँ राखेको छ भन्ने कुरा समेत आफूलाई थाहा नभएको बताउँदै उनले भने, ‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । न्याय माग्दा खुरुक्क लाश लिएर जान, बढि बोलिस् भने तँलाई नालामा फालिदिन्छु भनेर मलाई धम्की दिने गरेका छन् ।’ ‘ओ’ पोजेटिभ भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत दिइएको थियो । जसका कारण उनको मृत्यु भएको हो । 

शल्यक्रिया गर्नुपूर्व बिरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाईएको सुनाउँदै उनले रिपोर्टमा नै शंका लागेको बताए । घटनाको सत्यतथ्य छानविन गरी न्याय दिनुपर्ने उनको माग छ । 

उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोख्दै उनले भने, ‘छोरीको मृत्युको सत्यतथ्य छानबिनका लागि आज १० दिन भयो हामीहरु सरकारी कार्यालय धाउन थालेको । तर, अहिलेसम्म सरकारी कार्यालयबाट सहयोग भएको छैन । अब हामी कहाँ जाने ? हामीलाई कहिले न्याय दिनुहुन्छ ?’ 

यस्तै बालिकाका आफन्त सरेन्द्र यादवले शल्यक्रियामा संलग्न चिकित्सकले जानाजान गल्ती गरेर गलत रगत चढाएको आरोप लगाए । उनले भने, ‘मुटुको शल्यक्रिया हुँदा मृगौलाको भागमा किन चिरियो ? सुरुदेखि नै चिकित्सकले गल्ती गरिरहनु भएको छ।’ 

उनका अनुसार शल्यक्रियापूर्व अस्पताल प्रशासनले गराउने मञ्जुरीपत्रमा बिरामीको मर्ने सम्भावनामा १ देखि २.५ प्रतिशत रहेको लेखिएको र निधनपछि सोही ठाउँमा टिपेस लगाएर २० देखि ३५ प्रतिशत बनाइएको छ । 

प्रहरी प्रशासनकहाँ पटक–पटक धाउँदा पनि किटानी जाहेर लिन नमानेको आरोप लगाउँदै यादवले भने, ‘कहिले प्रहरी कार्यालय महाराजगञज, त कहिले सरकारी वकिलको कार्यालय र कहिले जिल्ला प्रशासन कार्यालय धाइरहेका छौं । तर, हाम्रो उजुरी दर्ता गराउन कोहीपनि तयार छैनन् । प्रहरी वृत्त महाराजगञ्जले भने व्यक्तिको नाम हटाएर उजुरी दिए तत्काल मुद्दा दर्ता गर्ने भन्दै फकाउने गरेको छ ।’ 

मन्त्रालयमा उजुरी दर्ता गर्दा समेत कारवाही नभएको उनले सुनाए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयमा पुग्दा त्यहाँ अस्पतालका निर्देशक जोतेन्द्र शर्मा, जो बालिकाको शल्यक्रियामा संलग्न थिए, उनी पनि पनि सँगै थिए । त्यहाँ हामीले उजुरी पनि गरको थियौँ तर कुनै कारबाही भएको छैन ।’ 

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा फरक रगतका कारण आकृतिकुमारी साहको मृत्यु भएको थियो । आकृतिको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्ञ्मा छ । 

पत्रकार सम्मेलनमा अधिवक्ताद्धय डा. सुरेन्द्र भण्डारी र डा. नारायण घिमिरेले घट्नामा लापरवाही गर्नेलाई कारबाही गर्नुपर्ने माग गरे । भण्डारीले पीडित परिवारलाई सहयोग गर्ने विश्वास दिलाउँदै मृत्तकको पिताले लिएर गएको जाहेरी दर्ता नगरिएको दुस्कृतिसँग सम्बन्धित दायित्वको मुद्दा हालिने पनि जनाए । 

नेपालका लागि नेपालीका अभियन्ता अधिवक्ता घिमिरेले यो घट्नाको अनुशन्धानको दायरा अघि बढ्नुपर्ने माग गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *