सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट, एक घाइते
फागुन ३, सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर जलेर नष्ट भएको हो ।
घरमा रहेको ४५ एम्पियरको १२ भोल्टको सोलार ब्याट्री पड्किँदा घरमा आगलागी भई दुवै घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । तार सर्ट भएर ब्याट्री पड्किँदा भएको आगलागीबाट रु पाँच लाख ६४ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
null
यस्तै हिजै गाउँपालिका–१० धाप्रेमा आगोले जल्दा एक वृद्धा घाइते हुनुभएको छ । खरबारीमा लागेको आगो निभाउन जाने क्रममा शरीरको बाहिरी भाग जलेर ६० वर्षीया अमृता दर्जी गम्भीर घाइते भएका छन् । उनको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक सिहंले जानकारी दिए ।