‘मलाई हत्कडी नै लगाएर थुनिदिनुस्’
कार्तिक ४, काठमाडौं । मिडिया हब र ‘भद्रगोल’ बीचको विवादले जन्माएको अर्को टेलिश्रृंखला ‘सक्कीगोनी’ पनि विवादमा तानिएपछि निर्देशक कुमार कट्टेल (जिग्री) ले आफूलाई जेल हाल्न आग्रह गरेका छन् ।
मिडिया हबसँग आर्थिक कारोबार नमिलेपछि ‘भद्रगोल’ त्यागेका निर्देशक कुमार कट्टेल (जिग्री) अर्जुन घिमिरे (पाँडे) सहितको ‘सक्किगोनी’ को टिमविरुद्ध उजुरी दर्ता भएपछि जिग्रीले यस्तो आग्रह गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यही देशमा बसेर कलाकारिता गर्नु र कलाकार बन्नु नै मेरो गल्ती हो भने उजुरी मात्र किन हात मा हत्कडी नै लगाएर थुनिदिनुस् !’
आर्थिक कारोबार नमिलेपछि मिडिया हबसँग छुट्टीएर निर्देशक जिग्री र पाँडेले उही टिम, उही थिम र उही क्यारेक्टरमा ‘सक्किगोनी’ निर्माण गरेका थिए ।
पुरानो भद्रगोलकै क्यारेक्टर तथा टिम देखिएपछि आफूलाई अप्ठेरो परेकोले उजुरी दर्ता गरेको मिडिया हबका प्रमुख सोमप्रसाद धितालले जानकारी दिएका छन् ।
धितालले उजुरीमा कुनै क्षतिपूर्तिको मागदावी भने गरेका छैनन् । पुरानो क्यारेक्टर ‘सक्किगोनी’ मा प्रयोग गर्न रोक्नुपर्ने उनको माग छ ।
यस सम्बन्धमा पाँडेले भद्रगोलका सबै क्यारेक्टर मिडिया हबले नभएर आफूहरुले जन्माएको भन्दै त्यसमा मिडिया हबले दावी गर्न नमिल्ने प्रतिक्रिया दिएका थिए ।