पाँचथर हत्या प्रकरणः रगत लतपतिएको हतियार र कपडा भेटियो

 

जेठ ७, काठमाडौं । प्रहरीले पाँचथरमा भएको सामूहिक हत्यामा प्रयोग भएको हतियार र कपडा फेला पारेको छ । 

प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले बमबहादुर फियाकका कान्छा ज्वाईँ अर्थात् रुखमा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर माखिमको शव भेटिए नजिकै रगत लतपतिएको खुकुरी, दाप र रगत लागेको कपडासहितको झोला फेला पारेको हो । 

null

अहिले प्रहरीले टोलीले घटनामा भागेर ज्यान जोगाएकी १२ वर्षीया बालिका सीता खजुमले दिएको बयानलाई आधार मानेर हत्याको अनुसन्धान गरिरहेको छ । 

प्रहरीका अनुसार सीताले बताएको हुलिया विवरणका आधारमा तयार गरिएको स्केच झुण्डिएको अवस्थामा फेला परेका माखिम शवसँग मिल्दोजुल्दो छ । तर अहिले नै आत्महत्या गरेका माखेमले परिवारको हत्या गरेको भन्ने प्रमाणित भइसकेको छैन । 

प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजालले घटनास्थल, हतियार र मृतक सबैको फरेन्सिक जाँचपछि मात्रै हत्यारासम्म पुग्न सकिने बताए । पारिवारिक कलहका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

सोमबार राति ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको थियो । 

१२ वर्षीया बालिका सीता भने भागेर बाँच्न सफल भएकी थिइन् । उनको निधार र दाहिने हातमा चोट लागेको छ । दमकस्थित आम्दा अस्पतालमा सीताको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

अहिले प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्रीको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन भइसकेको छ । घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थलतर्फ लागिसकेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *