ज्याला मजदुरी गर्नेलाई खैरहनी नगरपालिकाले राहत दिने

चैत १५, चितवन । सरकारले लागू गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गरेकाहरुलाई खैरहनी नगरपालिकाले राहत उपलव्ध गराउने भएको छ । 

लकडाउनको समय लम्विन सक्ने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले त्यस्ता परिवारहरुलाई राहत स्वरुप खाद्यान्न उपलव्ध गराउने भएको हो । 

खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीको अध्यक्षतामा शनिवार वसेको आपतकालिन वैठकले नगर भित्र त्यस्ता परिवारको तथ्यांक संकलन गर्ने काम अन्तिम चरणमा रहेकाले टोल विकास संस्था मार्फत खाद्यान्न उपलव्ध गराउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले वताए ।   

परिवारमा रहेका व्यक्तीहरुको संख्याका आधारमा चामल,दाल,नुन,तेल र एक थान सावुन उपलव्ध गराईने प्रवक्ता पाण्डेले जानकारी दिए ।  नगरले वडालाई पठाउने र वडाले टोल विकास संस्था मार्फत ति खाद्यान्न सामाग्री वितरण गर्नेछ ।   

कुनै संघसंस्था वा व्यक्तीले त्यस्ता परिवारलाई राहत उपलव्ध गराउन चाहेमा नगरमा सम्पर्क गर्न अनुरोध गरेको छ । एकद्धार प्रणाली मार्फत राहत वितरण प्रभावकारी हुने भएकाले समन्वय गर्न आग्रह गरेको हो । वैठकले दैनिक वजार अनुगमन गर्ने निर्णय समेत गरेको छ ।   

त्यसको जिम्मा सार्वजनिक क्षमता अभिवृद्धी तथा खरिद समितिका संयोजक टिकादत्त इटनीको टिमलाई दिईएको छ । सो समितिले नगरपालिका,इलाका प्रहरी कार्यालयसंगको समन्वयमा सर्वसुलभ तरिकाबाट सामान उपलव्ध भए नभएको,कृतिम अभाव सृजना गरे नगरेको अनुगमन गर्नेछ ।   

यस्तै विदेशबाट आएकाहरु होम क्वारेनटाईनमा वसे नवसेको,उनीहरुको स्वास्थ्य अवस्थाका बारे निरन्तर अनुगमन गर्ने निर्णय पनि गरेको छ । वैठकले कोरोना भाईरसको संक्रमण हुन नदिन नगर भित्र किटनाशक विषादी छर्ने निर्णय पनि गरेको छ । 

वैठकमा नगरपालिका उपमेयर सुनिता थपलिया,प्रवक्ता रामशरण पाण्डे,विपद व्यवस्थापन समिति संयोजक भुमी प्रसाद कडेंल,क्षमता अभिवृद्धी समिति संयोजक टिकादत्त इटनी,सामाजिक विकास समिति संयोजक मनेजर महतो,नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर अधिकारी,स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माको उपस्थिती रहेको थियो  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *