नेपाली राजनीतिमा राष्ट्रवादका विवाद

‘नेपालको सन्दर्भमा राष्ट्रवादको अर्थ देशलाई बाहिरी तवरमा सुरक्षित गर्नु भन्ने नै बहु–प्रचारित छ‘

‘राष्ट्र’ र ‘वाद’ यी दुई शब्द मिलेर राष्ट्रवाद बनेको हो । नेपालमा राष्ट्र शब्दको अर्थ निश्चित भौगोलिक इकाइको अर्थमा लिइन्छ अर्थात् देश वा राज्य । मेचीकाली बिचको भू–भाग नै नेपाल राष्ट्र हो भन्ने परिभाषा गरिन्छ । वादको अर्थ नेपाल राज्य अर्थात् देशले लिने विचारको रूपमा । राष्ट्रवादको अर्थ चैँ नेपालको यही भौगोलिक भू–भागको सुरक्षा गर्ने विचार हो । नेपालको सन्दर्भमा राष्ट्रवादको अर्थ देशलाई बाहिरी तवरमा सुरक्षित गर्नु भन्ने नै बहु–प्रचारित छ । देशको साँधसीमाना सुरक्षा गर्नु नै राष्ट्रवादको अर्थ हो । यही परम्परागत राष्ट्रवादको परिभाषाले राष्ट्रवादलाइ अर्थहिन बनाएको छ । विगतमा नेपाल देश वा राज्यको निश्चित भौगोलिक साँध सिमाना अंकित इकाइ नै राष्ट्र भयो ।

सामन्तवादी राज्य व्यवस्थाको विरुद्धमा पुँजीवादीहरुले विद्रोह गर्दा राज्य वा देशलाई राष्ट्र बनेको अर्थमा लिनु अस्वाभाविक थिएन । किनकि राष्ट्र (समुदाय) ले गरेको विद्रोहले आमसमुदायको नयाँ व्यवस्था स्थापना गरेको थियो । तर, त्यसयता भएका राज्य निर्माणको सन्दर्भ भने राजनैतिक विद्रोहद्वारा भन्दा पनि कुनै एक समूहले शस्त्रको सहयोगमा राज्यको निर्माण हुन थाले त्यसैलाई राष्ट्र निर्माणको नाम दिइयो । राष्ट्रको परिभाषा यहिँदेखि अनर्थ भयो । समाज विज्ञानका अनुसार मानव समाजको विकास गण, कविला, जाति र राष्ट्रको रूपमा क्रमागत हुन्छ । मानव समाज यसरी विकास भएको कुरा ओझेलमा प¥यो । कुनै पनि मानव समुदायको विकासक्रम गण, कविला, जातिहुँदै राष्ट्र बनेको श्वासत सत्य हो । तर, यहाँ राष्ट्र शब्द चैँ देश वा राज्य बन्न पुग्यो । लामो समयसम्म युरोपमा राष्ट्र राज्य (नेशन स्टेट) को नाम दिइयो । यो नाम भने ठिकै लाग्छ राष्ट्रले बनाएको राज्यको अर्थमा । युरोपका राष्ट्र(समुदाय) ले युरोपका राज्य निर्माण गरेकोले त्यहाँ र राष्ट्र–राज्य (नेसन स्टेट) भनियो ।

यस विषयमा राजनैतिक विश्लेषक प्रदीप गिरीले सटीक व्याख्या गर्दै आएका छन् । उनले भनेका छन्, ‘युरोपियन सभ्यताको चिहानमा राष्ट्रवादको जन्म भएको हो ।’ वास्तवमै राष्ट्रवादको जन्म यस्तै सभ्यताको चिहानबाटै भएको हो । युरोपको परम्परागत सभ्यतालाई चिहानमा पु¥याएपछि नै राष्ट्रवाद आयो । यो विषयमा प्रशस्त छलफल गर्न सकिन्छ । उनले कुन कालखण्डको सभ्यताको विषयलाई लिए, त्यो एकीन छैन । तर पछिल्लो युरोपियन सभ्यतालाई खारेज गरेपछि नै आधुनिक युरोपमा राष्ट्रवाद आयो । जसले युरोपलाइ राष्ट्रवादका नाममा विश्वभर उपनिवेश बनाउन सजिलो भयो । अमूर्त राष्ट्रवादले देशभित्र जनतालाई भुल्याएर विश्वभर साम्राज्य फैलाउन झनै सहज भयो । युरोपको राष्ट्रवादका विरुद्ध संसारभरका जनतालाई उठ्न सयौँ वर्ष लाग्यो । दोस्रो विश्व युद्धसंगै युरोपियन राष्ट्रवादको अन्त्य हुने क्रम सुरु भयो । हिटलरको राष्ट्रवाद, मुसोलिनीको राष्ट्रवाद, विस्मार्कको राष्ट्रवाद यसका ज्वलन्त उदाहरण हुन । वेलायती राष्ट्रवादले झन्डै पुरै संसारलाई उपनिवेश बनायो । यी राष्ट्रवादको अन्त्य कसरी भयो विश्व राजनैतिक रंगमञ्च जानकार छ । युरोपियन राष्ट्रवादको उप–उत्पादन चैँ यहुदी राष्ट्रवाद अर्थात् यहुदीवाद हो । जुन राष्ट्रवादले प्यालेष्टेनी जनताको अधिकारमा आजसम्म धावा बोलेको छ ।

नेपाली राष्ट्रवादको नखरा :

नेपालमा कथित राष्ट्रवादको उत्तेजना पञ्चायतले ल्याएको हो । यसको विकास प्रजातन्त्रको विरोधमा भएको थियो । तर, नेपाली राष्ट्रवादको उद्गम आजभन्दा करिब अढाइ सय वर्ष अगाडि नै भएको थियो । यो कुरालाई पुष्टि गर्न पनि गिरीको भनाइ नै यहाँ सान्दर्भिक हुन्छ । उनले भनेका छन्, ‘गोर्खाली राष्ट्रिय राज्यको नाम नेवार र मैथली सभ्यताको थिचोमिचोमा कण्ठ थिचेर भएको हो ।’

जतिबेला नेपालमा चर्को राष्ट्रवाद थियो अर्थात् पञ्चायती राष्ट्रवाद वा चलनचल्तीको भाषामा महेन्द्रिय राष्ट्रवाद त्यतिखेर चलनचल्तीको भाषामा प्रजातन्त्र थिएन । राष्ट्रवाद शाब्दिक अर्थमा जनवाद नै हुन्छ । राष्ट्र भनेको कुनै समुदाय गण, कविला र जातिको रूपमा विकसित हुँदै विभिन्न जातीय इकाइ एक अर्कामा मिलेपछि राष्ट्रमा विकसित हुने हो । तर, यहाँ राष्ट्रवादलाइ देशवाद वा राज्यवादको अर्थमा भ्रष्टिकरण गरियो । यहाँ बुझ्नु पर्ने कुरा के छ भने देश वा राज्यको कुनै वाद हुँदैन । यो त केवल आधुनिक राज्य वा देशको अन्तर्राष्ट्रिय चिनारीको भौगोलिक इकाइ हो । जसरी आधुनिक राजनैतिक विज्ञानमा देश या राज्यको कुनै धर्म हुँदैन भनिन्छ त्यसरीनै देश वा राज्यको वाद हुँदैन । यसअर्थमा राष्ट्रवाद खोक्रो वाद हो । राज्य वा देशलाई सञ्चालन गर्ने वाद जनवाद वा यस्तै अरू विचार दर्शनले गरेका हुन्छन् ।
युरोपको राष्ट्रवादको प्रतिक्रिया स्वरूप १९ वौं सदीमा साम्यवादीहरुले अन्तराष्ट्रवादको नारा दिए । यो नारा किन ठिक छ भने यो नाराले कुनै भौगोलिक इकाइको राज्य वा देशलाइमात्र समग्रमा स्विकार्दैनन् । यसले संसारभरका समुदायको मुक्ति र भलाइलाइ सम्बोधन गर्दछ । कुनै राज्य वा देशको भौगोलिक इकाइको सुरक्षार्थमात्र यसले वाद, विचार प्रस्ताव गर्दैन् । यसैले सर्वप्रथम साम्यवादीहरुले अन्तर्राष्ट्रिय गीत गाउँछन् । कुनै साम्यवादीले राष्ट्रिय गीत बनाएको वा गाएको सुनिन्छ ?

राष्ट्रवादको यात्रा अन्धराष्ट्रवादमा पतन :

राष्ट्रवाद उत्कर्षमा पुगेर पतन भएपछि त्यसलाई अन्धराष्ट्रवाद भनिन्छ । आफू बसेको कुनै भौगोलिक इकाइ, त्यहाँ बस्ने समुदायमात्र सर्वश्रेष्ठ ठान्नु अन्धराष्ट्रवादी धारणा हो । त्यसैले ब्रिटिस इष्ट इण्डिया कम्पनीले कलकत्ताको भिक्टोरीया दरबारको पेटी अगाडि कुकुर र इण्डियनहरुलाइ हिँड्नसम्म अनुमति नदिएको प्रसङ्ग यहाँ जोड्नु उपयुक्त हुन्छ । बेलायतको साम्राज्यमा सूर्य कहिल्यै अस्ताउँदैन, वेलायतीहरु सर्वश्रेष्ठ भन्ने जुन धारणा विकसित गरियो त्यो अन्धराष्ट्रवादी धारणा थियो । यसरी बेलायत सहित पुरै युरोपको राष्ट्रवाद अन्धराष्ट्रवादमा पतन भयो । त्यही अन्धराष्ट्रवादी धारणाले युरोपलाइ युरोपमै खुम्च्याउन बाध्य बनायो कालान्तरमा ।

नेपाली राष्ट्रवादको बाङमय :

नेपालमा राष्ट्रवादको तुरुप चलेको धेरै भएको छैन । पञ्चायतले उत्कर्षमा पु¥याउन खोजिरहेको बेला सीमित जनवाद (यसलाई प्रजातन्त्रको पुनरस्थापना र पछिल्लो पटक लोकतान्त्रिक गणतन्त्र ०६३) को स्थापना नेपालमा भयो । पञ्चायतको तिस वर्षे कार्यकालमा राष्ट्रवादको आकार फैलिन नपाउँदै ढलेको थियो । अहिले त्यही राष्ट्रवाद व्युँतेको छ । परम्परागत शक्ति खास गरी राजतन्त्र पक्षधर शक्तिले यस्तो राष्ट्रवादलाइ अगाडि ल्याउन चाहेको थियो । उसँग त्यस्तो तागत भने भएन । राप्रपालगायतका शक्ति केन्द्रहरुको बुतामा सम्भव नहुनु अनौठो पनि होइन । तर, करिब अढाइ सय वर्षदेखि विभिन्न रूप आकारप्रकारमा विचरण गर्दै आएको कथित राष्ट्रवादको प्रभाव नेपाली समाजमा जबर्जस्त थियो । जनवादलाइ तह लगाउने कथित यो सिद्धान्तमात्रै कामयावी हुने हुनाले र त्यसको मताकारलाइ आफूतर्फ सोझ्याउने हिसाबले नेकपा एमालेलगायतका केही दलले यो तुरुपलाइ टपक्कै टिपेका छन् । उनीहरूले देशभक्तीको कुरा उठाउँदैनन् । देशभक्तिको कुरा केही मुर्त हुन्छ । यसैले मूर्त कुरा उठाउनु तिनको निम्ति श्रेयष्कर छैन । राष्ट्रवाद नेपाली समाजमा गुरुमन्त्रको रूपमा लोकप्रिय छ । यो तुरुपलाइ मलजल मधेस आन्दोलन र पछिल्लो पटक भारतको अघोषित नाकाबन्दीले सिँचाइ गर्ने काम गरेको छ । मधेस आन्दोलनलाई पुरै राष्ट्रवाद विरोधी कित्ताको रूपमा प्रचारित गरियो । नेकपा एमालेको साँगठानिक आधारका कारण उसलाई यो तुरुप सञ्जीवनी समेत भएको छ । एकातिर मधेसमा एमालेको खस्कदो जनाधारलाइ भर्पाइ गर्न यो सूत्र उसकालागि सिद्धान्त भयो । ढुङ्गा खोज्दा देउता मिले जस्तो ।

माथि भनिए जस्तै राष्ट्रवादका यी अनुयायीहरुले आफ्नो पहाडी भूभागलाइ उन्नत र आफ्नो जातिलाई सर्वश्रेष्ठको रूपमा प्रस्तुत गर्दै आएका छन् । मधेसीहरुलाइ नश्लियरुपमा घटिया र पराइ देशसंग मिलेको अर्थमा आरोप लगाउने गर्छन् । यस्ता अभिव्यक्ति दिएर कथित राष्ट्रवादको भूलभुलैयामा वर्षौदेखि परेका सर्वसाधारणको तन, मन, खिचेका छन् । केही समय अगाडि भएको स्थानीय तहको निर्वाचनमा एमालेले यो सिद्धान्तकै कारण अनुमान गरेभन्दा बढी सफलता प्राप्त ग¥यो । तेस्रो चरणको मधेसी बहुल क्षेत्र प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा समेत उनीहरूले बहुमत सिद्ध गरे भने वा सम्मानित मत ल्याए भने यो कथित सिद्धान्तको तेजोबध हुन बाँकी रहेको अर्थमा बुझ्न सकिन्छ । प्रदेश र सङ्घको निर्वाचन त हुन बाँकी नै छ । हुनतः मतादेश र जनादेश फरक हुन्छ भनिन्छ । त्यैपनि केही चिज त मतादेशमा पनि बाँकी रहेको हुन्छ नि जनादेश ।

नेपालका कथित राष्ट्रवादका अनुयायीहरुको विगत भने उनीहरूकै भाषामा राष्ट्रघाति छ । भारतका शाषक वर्गसंग भएका कतिपय असमान सन्धिहरुको विरोधमा चुँ नबोल्ने तर प्राविधिक मुद्धाहरुलाइ उछाल कुद गरी रातारात राष्ट्रवादी भएको ढिँडौरा पिटेका छन् । महाकालीलगायतका असमान सन्धि सर्पनको मसी नसुक्दै रातारात उनीहरू राष्ट्रवादका प्रतीक बनेका छन् । राष्ट्रवादको पतन अन्धराष्ट्रवादमा पुगेर टुङ्गिन्छ । यो समय भने परिपक्क भैनसकेको अवस्था हो । रबर छन्दको यस्तो सिद्धान्तको अन्त्य नभएसम्म अन्तराष्ट्रवादी मुक्ति असम्भव नै हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *