युवा ब्यवसायी अनिल शेर्पा जसले लकडाउनमा सामुदायिक कुकुरहरुको प्राण बचाइरहेका छन्

तस्बिरहरु: सागरबाबु भट्ट/मकालु खबर  

बैशाख ७, काठमाडौं । विश्वब्यापी कोभिड–१९ को कहरले कोही पनि अछुतो छैन । चार महिनाअघि चीनको उहानबाट शुरु भएको कोरोना भाइरसले विश्वभरका लाखौं मानिस प्रभावित भएसँगै मानव आश्रित जीव जन्तु समेत प्रभावित भएका छन् ।   

यस्तैमा काठमाडौं चावहिल गणेश स्थानका एक युवाले मानव आश्रित कुकुर, बाँदरलाई आफ्नै खर्चमा खाना खुवाइरहेका छन् । चावहिल ओम अस्पिटलसँगै अतिथि गेस्ट हाउस सञ्चालन गर्ने युवा ब्यवसायी अनिल शेर्पाले विभिन्न टोलमा रहेका सामुदायिक कुकुर तथा पशुपतिका बाँदरलाई विगत एक हप्तादेखि खाना खुवाइरहेका छन् ।   

आइतबार चावहिल ओम हस्पिटल पछाडी करिब एक दर्जन कुकुरलाई खाना खुवाइरहेका अनिल शेर्पाले कोरोना भाइरसका कारण मुलुक नै एक महिना यता लकडाउन हुँदा सामुदायिक कुकुर तथा बाँदरहरु खान नपाएर भोकै मरिरहेको देखेपछि उनीहरुको रक्षार्थ आफ्नै खर्चले खाना खुवाइरहेको बताए ।   

‘हामी मानवले भोक लाग्यो, रोग लाग्यो भन्न सक्छौं तर, हामीबाटै आश्रित कुकुर बाँदरले आफ्नो भावना ब्यक्त गर्न सक्दैनन् । हामीले समाजमा हामीबाटै आश्रित हाम्रा वफादार कुकुर तथा मठमन्दिरमा रहेका बाँदरलाई पनि बचाउनु पर्छ भनेर खुना खुवाउने कार्य गरेको हुँ ।’ युवा ब्यवसायी शेर्पाले भने । उनले विगत एक हप्तादेखि चावहिल, गणेशस्थान, गंगाहिटी, भत्केको पुल, कालोपुल क्षेत्रमा रहेका सामुदायिक कुकुरलाई हरेक दिन बेलुकी मासु भात खुवाईरहेका छन् ।   

कोरोना भाइरसका कारण मुलुक नै ठप्प रहेको र घरबाट मानिस समेत ननिस्किएको अवस्थामा ७ नं. वडा समितिबाट पास नै लिएर सामुदायिक कुकुरलाई खाना खुवाइरहेका छन् । ‘हामीले यो समाजमा बाँच्न पाउँछौं भने यीनिहरुको पनि बाँच्न पाउने अधिकार पनि छनी ! यहि भएर विश्वमै सबैभन्दा वफादार कुकुरलाई संरक्षण गर्नुपर्छ, बचाउनुपर्छ भनेर लागेको हुँ ।’ उनले भने ।   

उनले अहिलेको अवस्थामा मानव समुदायले समाजमा रहेका पशु तथा जीव जनावरको संरक्षण गर्नुपर्ने औल्याए । ‘मेरो मान्यता भनेको समाजमा रहेका सबैजना पेट भरेरै सुत्नु पर्छ भन्ने हो ।’ उनले भने ।   

शेर्पाले राजधानीका करिब एक सयको हाराहारीमा रहेका सामुदायिक कुकुरलाई दैनिक रुपमा खाना खुवाइरहेका छन् । र, उनलाई यसरी कुकुर तथा बाँदरलाई खाना खुवाउन चावहिल वडा नं. ७ का वडाध्यक्ष शुद्ध डंगोलले लकडाउन पास नै उपलब्ध गराइदिएका छन् ।   

अनिल शेर्पाले भोली गोकर्ण क्षेत्रका बाँदरलाई समेत खाना खुवाउने कार्यक्रम बनाएका छन् । पशुपति क्षेत्रका बाँदरलाई खाना खुवाइसकेका उनले गोकर्ण क्षेत्रमा खाना नपाएर बाँदरहरुले माटो नै खान थालेको सुचना पाएपछि सो क्षेत्रमा गएर खाना खुवाउने तयारी गरेका छन् । भने, मंगलबार आफ्नै गेस्ट हाउसबाट गरिब तथा विपन्न वर्गलाई राहत वितरण गर्ने कार्यक्रम राखेका छन् ।   

मंगलबार चावहिल ओम हस्पिटल छेउमा रहेको अतिथि गेस्ट हाउसबाट विपन्न, दैनिक ज्यालादारीमा जिवन यापन गर्ने जो लकडाउनका कारण अफ्टेरोमा परेका छन् उनीहरुलाई राहत लिन आउन आग्रह पनि गरेका छन् । उनले केहि दिन यता आइफोन र चार तोलाको सिक्रि लगाउनेहरु समेत राहत लिन लाइनमा आइरहेको सञ्चार माध्यममा आएकोले त्यस्ता ब्यक्तिहरुलाई भने राहत लिन नआउन भने । ‘जसले खान पाइरहेका छैनन्, जसको घरमा अन्नको एक दाना छैन त्यस्ता परीवारलाई हामीले राहत दिने हो, कृपया आइफोन बोकेर, चारतोलाका सुनका सिक्रि लगाउनेहरु राहतका लागि लाइनमा नबस्नु होला ।’ उनले भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *