ग्लोवल आइएमइ र जनताको मर्जले ल्यायो नयाँ तरंग, ठूला बैंक मर्जको लागि उदाहरण
मंसिर २०, काठमाडौं । दुई ठूला बैंकको मर्जरपछि बैकिङ क्षेत्रमा तरंग आएको छ । जनता र ग्लोवल मर्जभएपछिको ग्लोवल आइएमइ बैंक नेपालकै सबैभन्दा ठूलो बैंक समेत बन्न सफल भएको छ । ग्लोबल आइएमई र जनता बैंक मर्ज भई आजैबाट एकीकृत कारोबार शुरु भइसकेको छ ।
मर्जपछि दुई बैंकले ग्लोबल आइएमई बैंकको नामबाटै एकीकृत कारोबार औपचारिक रुपमा गरिसकेका छन् । ग्लोवल आइएमइ बैंकका अध्यक्ष चन्द्र ढकालले नेपाली अर्थतन्त्रमा दुई ठूला बैंकको मर्जरले नयाँ इतिहास लेखेको बताए ।
औपचारिक एकीकृत कारोबारको सुभारम्भका अवसरमा बोल्दै ढकालले भने–‘सरकारको नीति कार्यान्वयन गर्नका लागि एउटा खुड्किलो तयार भएको छ । मैले आँटेको काम पुरा गर्न सकेँ ।’ ढकालले यस कार्यले नेपाल राष्ट्र बैंक र सरकारले लिएको नीतिलाई सहयोग पुगेको बताउँदै अब बैंकिङ सुधारका कामलाई प्राथमिकता दिएर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।
‘अब बैंकको गुणात्मक सुधार गर्दै विशेष रणनीतिका साथ अघि बढ्छौं । देशकै अब्बल बैंक बनाउने योजनातय गरिएको छ । ’ ढकालले भने ।
गत वर्ष स्थापना भएको इन्फास्ट्रक्टर बैंकको २० अर्ब चुक्ता पुँजी छ । बैंकको चुक्ता पुँजी १९ अर्ब, कूल प्राथमिक पुँजी २४ अर्ब पुगेको छ । निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ भएको छ ।
बैंकका ७७ वटै जिल्लामा ३ सय भन्दा धेरै शाखा, २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर भएका छन् । ग्लोवल आइएमई बैंकका विदेशमा तीन वटा प्रतिनिधि कार्यालय समेत छन् । बैंकको कूल सञ्जाल ८ सय ३८ पुगेको छ । बैंकमा ३ हजार २ सय ५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक रहेको बताइएको छ ।
२०६३ साल पुस १८ गतेदेखि ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएर औपचारिक रुपमा कारोबार सुरु गरेको हो । यो नेपालको १९ औं वाणिज्य बैंक हो । जनता बैंकले २०६६ चैत २३ गतेदेखि आफ्नो कारोबार सुरु गर्दा यो २७ औं वाणिज्य बैंकको रुपमा आएको थियो ।
अब ग्लोबल आइएमइ बैंकको अध्यक्ष चन्द्र प्रसाद ढकाल नै रहनेछन् भने, प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर रहने व्यबस्था छ ।
नेपाल राष्ट्र बैंकमा डा. चिरंजीवि नेपाल गभर्नर भएपछि उनले बैंक मर्जर र पुँजीबृद्धिको विषयलाई प्राथमिकतामा राखेका छन् । बैंकहरुको संख्या घटाउने उद्देश्य स्वरुप राष्ट्र बैंकले विग मर्जरको अबधारणा अगाडी ल्याएको थियो । ग्लोवल र जनताको मर्जरले मर्जर अवधारणाको बैकिङ क्षेत्रमा सकारात्मक धारणा विकास भएको छ ।